आन्द्रेस इनिएस्टा र फर्नान्डो टोरेसको जे–लिगमा सुरुवात हारबाट

स्पेनका लेजेण्ड खेलाडी आन्द्रेस इनिएस्टा र फर्नान्डो टोरेस दुवैले जापानको जे–लिग फुटबलको डेब्यु खेलमा हारे बेहोरेका छन् ।

बार्सिलोनाबाट ३२ वटा ट्रफी जितेका इनिएस्टा केही महिनाअघि जापानको भिसेल कोबे क्लबमा अनुबन्धित भएका हुन् । जे–लिगमा उनको पहिलो खेलमा आइतबरा भिसेल कोबे शोनान बेलमारसँग ३–० ले पराजित भयो ।

यो खेलेमा इनिएस्टा अन्तिमको ३२ मिनेट मात्रै खेलेका थिए । ३४ वर्षका इनिएस्टाको पहिलो खेलमा उनको हौसला बढाउनका लागि २६ हजार भन्दा बढी दर्शकले स्पेनको झण्डा फहराएका थिए ।

यस्तै लिभरपुलका पूर्व स्ट्राइकर टोरेसको टिम पनि उनको डेब्यु खेलमा पराजित भयो । टोरेसको टिम सागन तोसु भेगाल्ता सेनादाइसँग १–० ले पराजित भयो । टोरेस पनि दोस्रो हाफमा मैदान छिरेका थिए ।

टोरेसले हेडमार्फत गरेको प्रहार विपक्षी टिमका गोलरक्षकले जोगाए । ३४ वर्षका टोरेसले गएको सिजनको अन्त्यसँगै एथ्लेटिको मड्रिड छोडेर जे–लिग क्लब आएका हुन् । टोरेजले एथ्लेटिकोमा दुई कार्यकालमा ४०४ खेलमा १२९ गोल गरे ।

साउन ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्