धनगढी – क्रिकेटको शहरका रूपमा परिचय बनाएको धनगढीमा निर्माण हुने भनिएको फाप्ला अन्तर्राष्ट्रिय खेल मैदान संरक्षणको अभावमा गौचरनमा परिणत भएको छ ।

फाप्ला क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने लक्ष्य अनुरूप आगामी आर्थिक वर्ष २०७५/७६ मा प्रदेश सरकारले ५ करोड तथा धनगढी उपमहानगरपालिकाले १ करोड बजेट छुट्ट्याएको छ ।

तर निमार्णाधीन अवस्थामा रहेको फाप्ला मैदान पछिल्लो गौचरनमा परिणत भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको फाप्ला क्रिकेट मैदानमा केही महिना पहिले मात्रै प्रधानमन्त्री राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता सम्पन्न भएको थियो ।

प्रतियोगिता हुँदाका बखत चिटिक्क पारिएको क्रिकेट मैदानमा त्यसपछि कसैको ध्यान नजाँदा अहिले गौचरन बनेको हो । मैदानको चारै तिर तारबार गरिएको भए पनि मुल गेटमा लगाएको ताला स्थानीयले तोड्दै गाईगोरु चराउने गरेका छन् ।

लाखौँ रुपैयाँ खर्च गरेर फाप्ला मैदानमा एक वर्षअघि घेरवार गरिएको थियो । तर, संरक्षणमा सम्बन्धित निकायले ध्यान नदिँदा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने भनिएको मैदान गौचरनमा परिणत भएको हो ।

ड्रिम फाप्ला अभियानले फाप्ला क्रिकेट मैदानलाई लामो समयदेखि संरक्षण गर्दै आएको थियो ।

त्यसपछि स्वामित्वमा विवाद हुँदा जिल्ला खेलकुद विकास समितिको मातहतमा रहने गरी एक उपभोक्ता समिति समेत गठन गरिएको थियो । उक्त समिति पनि घेरवार गरेपछि निष्क्रिय बनेको छ ।