भगवानपुरका महेन्द्र यादब

खसी बेचेर काठमाडौँ आएका डा. केसी अभियानका सडक सहयात्री

काठमाडौँ – भगवानपुर, धनुषाका महेन्द्र यादबले कहिल्यै स्कुल जान पाएनन्। उनले आफ्ना तीन छोरीलाई पढाउन सकेनन् ।

पछि जन्मिएका दुई छोरामध्ये जेठोलाई नजिकैको बोर्डिङ स्कुलले निशुल्क पढाई दिएको छ । कान्छो छोरा सामुदायीक स्कुलमा पढ्छ । ५० वर्षको उमेरमा यतिबेला उनी आफ्ना नातिनी पढ्ने सपना देख्दै छन् ।

‘स्वच्छ हावा तपाईँलाई पनि चाहिन्छ, मलाई पनि चाहिन्छ । हाम्रा प्रधानमन्त्री केपी ओलीलाई पनि स्वच्छ हावा नभई हुन्न । तर हाम्रो देशमा विभेद छ । शक्तिमा भएका व्यक्तिहरु यस्तो सोच्नु हुन्छ कि गरिबलाई स्वच्छ हावा नभए पनि बाँच्छन्’ आधासरो फुलेका दारीमा गम्भीर देखिएका यादब एकोहोरो बोल्दैछन् ।

जनकपुर धाम नजिकै रहेको भगवानपुरमा महेन्द्रको नौ कठ्ठा जमिन छ । यहि जमिन खोस्रिएर उनी श्रीमती, दुई छोरा र विवाह गर्न बाँकी एक छोरीको गुजारा गर्छन् । जमिन बाहेक उनको नुन–तेल दुहुना भैँसीले पनि बेहोर्छन् । तर धनले यी गरिब किसानलाई भगवानपुरको ‘मेन स्ट्रिम’ ले बीद्रोही ठान्छ । स्थानीय सत्ता उनलाई मन पराउँदैन । किन मन पराउँदैन, तल चर्चा गरौँला । त्यसअघि उनको विगतबारे चर्चा गरौँ ।

माओवादी सशस्त्र द्धन्द्धका कारण यादबको परिवार पनि विस्थापित भयो । बिहारमा रहेको ससुरालीमा गएर उनले भैँसी पालन गरे । दूध बेचेर १५ वर्ष गुजारा गरे त्यतै । उतै जन्मिए पाँच सन्तान । दिल्लीमा तत्कालीन मुलधारका राजनीतिक दल र माओवादीबिच शान्ती सम्झौता भएको सुनेपछि यादब परिवार पुनः भगवानपुर फर्कियो ।

‘माओवादी पनि मरिरहेको थियो । पुलिस र आर्मी पनि मरिरहेको थियो । हामीले सुरक्षाका लागि कसैको भरपर्ने अवस्था थिएन । त्यसपछि ससुरालीमा गएर बसेँ । दुःख थियो । छोराछोरीलाई स्कुल पठाउन सक्ने मेरो स्थिथि थिएन’, यादब भन्छन् । नेपाल फर्कदा यादबको ३२ कठ्ठा जमिन लिलामी भईसकेको थियो । उनका बुवाले बैंकबाट लिएको ऋण चुक्ता नभएपछि यादबको जग्गा लिलामी भइसकेको रहेछ ।

‘स्थानीयको मिलेमतोमा ८२ हजारमा मेरो जग्गा बिक्री भएको रहेछ । मैले जग्गा लिने व्यक्तिलाई समातेँ । मेरो जग्गा फिर्ता गर्न आग्रह गरेँ । मेरो जग्गा किन्ने पहिलो अधिकार त मलाई नै हुन्छ नि, तर मेरो जग्गा सस्तोमा बिक्री हुनु पछाडि राजनितिक मिलेमतो थियो । दुई लाख ५० हजार दिए जग्गा फिर्ता हुने बताइयो । मैले एक लाख रुपैयाँ बैना पनि दिएँ । तर त्यहाँ ठूलो षड्यन्त्र भयो । पछि ९ कठ्ठा जग्गा मात्र फिर्ता गरियो’ यादबले निदारको चिटचिट पसिना हातले सोरे ।

देशमा चलेको लामो राजनितिक द्धन्द्ध र त्यसमा पनि तराईमा चलेका आन्दोलनले यादब जस्ता धेरै न्युनस्तरका मानिसलाई प्रशिक्षित गरिदियो । स्कुल जान नपाए पनि उनीहरुले बुझे–जनताका अधिकारहरु के के हुन् । राज्यका दायित्वहरु के के हुनुपर्छ ।

उनीहरुले राज्यलाई प्रश्न गर्न सक्ने आफ्ना अधिकारका सीमाबारे थाहा पाए । भष्ट्राचारविरुद्ध खुलेर बोल्ने आँट गरे । ‘नजिकै सामुदायीक विद्यालय छ । यसको नाममा तीनसय बिघाभन्दा बढी जग्गा छ । अन्य सम्पतीहरु पनि छन् । तर वर्षौँसम्म राजनीतिक मिलेमतोमा यहाँको स्कुलमा भष्ट्रचार भईरहेको छ । मैले अभिभावक भेलामा विद्यालयको हिसाबकिताब मागेँ । विद्यालयको व्यवस्थापन परिवर्तन हुन लागेकाले पुरानो समितिले हिसाबकिताब बुझाउनु पर्ने मेरो माग थियो । मेरो प्रश्नमा त्यहाँ भेला भएका सबै अभिभावकले स्वर मिलाए । तर पुरानो समितिले हिसाब बुझाउन सकेन । मैले प्रहरीलाई बोलाएँ । तर उनिहरु त्यत्तिकै फर्किए ।’

उनले भने, ‘भोलिपल्ट म सिडिओ कार्यालय पुगेर सिडिओलाई भेटेँ । सिडिओले जिल्ला शिक्षा कार्यालयको जिम्मेवारी भएको बताए । मैले जिल्ला शिक्षा कार्यालयको हाकिमलाई भेटेँ । उनले १५/२० जनाको हस्ताक्षर संकलन गरेर ल्याए कारबाही अगाडि बढाई दिने आश्वासन दिए । भोलिपल्ट जिल्ला शिक्षा प्रमुखलाई भेट्न जाँदा उनले आफू जिल्लाबाहिर रहेको जवाफ दिए । उनीभन्दा माथि जान मेरो आर्थिक अवस्थाले साथ दिएनु, यादब विगतमा फर्किए ।’

स्थानीयस्तरमा राजनीतिक मिलेमतोमा कर्मचारीहरु कसरी परिचालित हुन्छन् उनले बुझ्दै गए । व्यवस्थापन समितिमा कांग्रेस, एमाले, माओवादी लगायत ठूला पार्टीकै प्रतिनिधिको बाहुल्यता रहने भएकाले अब यादब राजनीतिक दलको निशानामा पर्न थाले । ‘मैले भ्रष्टाचारको कुरा निकाल्न थालेपछि म त बिद्रोहीजस्तै हुन थालेको छुु’ यादब भन्छन् । यादबले ती विद्यालयमा पढाई नहुने पनि सुनेका थिए । शिक्षकहरु गफ गरेर बस्ने, राजनीति गर्ने, कक्षाका अलिक जान्ने विद्यार्थीलाई पढाउन लगाएर आफू अर्कै काममा व्यस्त हुने उनले केयौंपल्ट सुनेका थिए । उनले गाउँका अन्य अभिभावकबाट धेरैपटक सुने, पढाई नै हुन्न भने छोराछोरीलाई किन स्कुल पठाउनु ?

‘म नपढेको मान्छे भए पनि त्यो विधालयले राम्रो नतिजा निकालेको कहिल्यै सुनिनँ । बरु अस्ति भर्खर एउटा झुपडिबाट सुरु भएका बोर्डिङ स्कुलहरुले आज धेरै प्रगति गरेका छन् । उनीहरुले राम्रो नतिजा ल्याईरहेका छन् । सरकारी स्कुलहरुले किन यस्तो गर्न सक्दैनन् । त्यत्रो सम्पती भएर पनि । किन सरकारी शिक्षकहरु आफ्ना छोराछोरीलाई प्राइभेट स्कुलमा पढाउँछनु’, यादब यी प्रश्नहरुको जवाफ व्याप्त भ्रष्टाचार भित्रै खोज्न थाले ।

यत्तिकैमा उनले काठमाडौँमा डा. गोविन्द केसीले गुणस्तरीय शिक्षा र स्वास्थ्यका लागि गरेको अनशनबारे रेडियो, टेलिभिजनमा सुनेरहेरे । गोविन्द केसीबारे थाहा पाए । केसीको त्यो पहिलो अनसन थियो । उनले बुझे–गोविन्द केसी केपी ओली वा प्रचण्ड जसरी प्रधानमन्त्री बन्न अनशन गरिरहेका छैनन् । गरिबको पनि गुणस्तरीय शिक्षा र स्वास्थ्यमा पहुँच होस् भनेर केसी आन्दोलन गरिरहेका छन् । उनी पनि केसीको आन्दोलनमा सहभागी हुन काठमाडौँ हानिए, घर व्यवहार सबै बिर्सिएर ।

‘म नपढेको पटमुर्ख । मेरो बच्चाले पनि पढ्न पाउनु भएन । मेरो नातिनीले त पढ्न पाउनु पर्छ । अब हामी लड्यो भने आउने सन्तान त पढिहाल्छ नि । नेपालमा धेरै अनपढ र गरिब छ । उनीहरुले पनि गुणस्तरीय शिक्षा र स्वास्थ्य पाउँछ’, यादबको अपेक्षा थियो । त्यसयता उनी हरेकपटक केसीका आन्दोलनमा काठमाडौँ आईरहेका छन् । केसीका अनसन कार्यक्रममा बोल्ने गरेका छन् ।

उनी भन्ने गर्छन्–केसीले उठाएका भ्रष्टाचारका विषयमा चुर्इँक्क नबोल्ने केपी ओली, प्रचण्ड, उपेन्द्र यादब सबै भ्रष्टाचारी हुन् । काठमाडौँमा उनी सहभागी हुने हरेक कार्यक्रम र तिनमा उनले बोल्ने कुराहरु उता गाउँका स्थानीय राजनीतिकर्मीको कानमा छिनभरमै पुगेजस्तो उनलाई लाग्छ । ‘अचेल त म र मेरो परिवारलाई नै सिध्याउने खेल भईरहेको छ’ यादब भन्छन् ।

सोमबार बसन्तपुरमा जारी डा. केसीका लागि सामूहिक सत्याग्रह कार्यक्रममा पुग्दा एक छेउमा बसिरहेका यादब निकै शिथिल र मलिन देखिन्थे । रसिला आँखा, निन्द्रा नपरेको अनुहार, झुत्रा कपडामा देखिएका उनलाई त्यहाँ पुग्ने जो कोहीले पनि ‘ख्याल’ गर्न सक्थ्यो । उनीसहित अन्य दुईजना पनि यादबजस्तै थिए, रसिला आँखा, निन्द्रा नपरेको अनुहार र झुत्रा कपडा । उनीहरु यादबसँगै आएका जनकपुरधामका रामप्रकाश मण्डल र जुगेश्वर यादब थिए जो यसअघि पनि केसीको आन्दोलनमा सहभागी हुन काठमाडौँ आएका थिए ।

यसपटक काठमाडौँ आउनु अघि यादबले ठूलो दुःख खेपे । केसीको अनसन सातौँ दिनमा चलिरहेको थियो, रामप्रकाश र महेन्द्रले काठमाडौँ आउने योजना बनाए । तर उनीहरुसँग पैसा थिएन । महेन्द्रले खसी बेचेर पैसा जोहो गर्ने निर्णय लिए । महेन्द्र खसी लिएर बजार गए । त्यतिबेलै उनलाई खबर आयो–उनकी छोरीलाई जिउभरि ब्लेडले चिरेर रक्ताम्य बनाईएको छ ।

त्यो खबर उनलाई सुनाउने तिनै छिमेकी युवक थिए जसले उनकी १४ वर्षीय छोरीका शरीरमा ब्लेडले चिरेका थिए । ‘तेरी छोरीको थुतुनो बढी चल्न थाल्यो । त्यसैले मैले यसो गरेको’, यादबको मोबाइलमा सुनियो । उनी खसी सात हजारमा बेचेर हतार हतार घर फर्किए । छोरीको प्राथमिक उपचार भइसकेको रहेछ । आँखा वरिपरी ब्लेडले चिरिएको थियो । शरीरमा पनि ब्लेडका धार चलाईएको रहेछ । यादब उजुरी लिएर स्थानीय थाहा गए । तर असईले उजुरी लिन मानेनन् । त्यसपछि ढल्केबर पुगे । उजुरीपछि ती युवकलाई समातियो । तर,सार्वजनिक मुद्धा चलाइयो ।

‘म केसीको आन्दोलनमा आउने भएपछि मलाई रोक्न वडा अध्यक्ष र स्थानीय एमाले, माओवादी र फोरमका नेताले रचेको यो षड्यन्त्र थियो । नत्र भने कसैले दिनदहाडै सार्वजनिक स्थानमा त्यस्तो आँट गर्न सक्छ । प्रहरी समेत उनीहरुसँग मिलेका थिए । मैले ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरौँ भन्दा मानेनन् । प्रहरी र वडाध्यक्षबिच नियमित सम्पर्क भइरहेको थियो । आज अनुहारभरिको चोटका कारण मेरी छोरीको विवाह नै नहुन सक्ने अवस्था भएको छ । काठमाडौँकैै नेताहरुको निर्देशनमा म विरुद्ध षड्यन्त्र भइरहेको छ’ यादब भन्छन् ।

यतिबेला यादबलाई साथ दिइरहेका रामप्रकाश र जुगेश्वरको पनि आफ्नै पीडा छ । ८ वर्ष कतार बसेर आएका रामप्रकाश स्थानीय नेताहरुको षड्यन्त्रमा छोराहरु आफूविरुद्ध जाइलागिरहेको बताउँछन् । ‘अंशमा पाएको अढाई कठ्ठा जग्गा बेचेर कतार गएँ । त्यहाँ ८ वर्ष बस्दा एक बिघा जग्गा किनेँ । छोराहरुलाई बोर्डिङ पढाएको थिएँ । तर बाबु आमा अनपढ भएपछि छोराछोरी नपढ्ने रहेछन् । छोराहरुले आमालाई टेरेनन्, पढेनन् । अहिले म भ्रष्टाचार विरुद्ध लडिरहँदा छोराहरुले मलाई दिनहुँ पिट्ने गर्छन्’ रामप्रकाशले दुखेसो पोखे ।

रामप्रकाशहरु दिनभरि सामूहिक सत्याग्रहमा सहभागी हुन्छन् रातपरेपछि पशुपतितिर मठमन्दिरमा गएर सुत्छन् । उनीहरुले देखेको एउटै सपना छ–कुनै पनि गरिब पैसा अभावकै कारण गुणस्तरीय शिक्षा र स्वास्थ्यबाट बन्चित नहोस् ।

महेन्द्र केही भावुक भए । घाइते छोरीलाई छाडेर आउनु परेकोमा उनले भगवानप्रति भर परेको बताए । उनलाई लाग्छ–राम, कृष्णजस्ता भगवानहरु पनि संकटबाट गुज्रिएका थिए । मानिसले संकटलाई सामान्य मानेर त्यसलाई छिचोल्न सक्नुपर्छ ।

‘हे भगवान तोहर इत्ना दुःख परल तो कोही नदेख्न है । तो हम्रो दुःख परेवाला हे तो कोही मानव देखेवाला नाहे’ महेन्द्र आफ्नै भाषामा भन्दै थिए ।

साउन ८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्