भान्छामै मही बनाउने सजिलो तरिका (भिडियो सहित)

भान्छामै मही बनाउने सजिलो तरिका (भिडियो सहित)

काठमाडौँ – गायक राजनराज शिवाकोटीले ‘हुर्रे’ चलचित्रको गीतमा भनेका छन्, ‘ठेकीमा दही मदानीले मही, मग मग नौनी खोई?’ यस्तै गायिक अमृता लंगेली मगर र मुकन्द के सीले दोहोरी नै खेलेर भने, ‘दहिको ठेकी मही पार्ने मदानी।’

तर के मही पार्न ठेकी र मदानी नै चाहिन्छ त? दहीलाई ठेकीमा राखेर मदानीले मोथेर मही बनाउने भनेपछि घरको थाम अगाडिको दृष्य सम्झनामा आउँछ। विशेषगरी गाउँघरमा यो चलन हो।

मही पार्ने भनेपछि काठ वा माटोको ठेकी, काठ वा बाँसको मदानी, मदानीमा डोरी बेरेको, मदानी घुमाउन डोरीको मुखमा खोया बानेको,

थाममा दुईओटा डोरी बेरेको र थ्याच्च पिर्कामा बसेर दुई हातले डोरी तानेको, अनि खल खल पसिनासँगै महीको वास्ना। यो सम्झनामा आउँछ।

मदानीले ठेकीको महीलाई मोथ्दा झ्वारझ्वार आवाज आएको र ठेकीको मुुखबाट छछल्किएर पोखिएको। नौनी निस्किएपछि त्यही नौनीको धूपौरोमा धूप हालेको र मगमग बास्ना घरभरी छरिएको। भाँडाभरी नौनी निकालेको अनि तनतनी मही पिएको।

समय परिवर्तन भइरहेको छ, गाउँ शहर बनिरहेका छन्। प्रविधिको विकास र हाम्रो पहुँचले हामीले गर्ने कामको तरिकालाई पनि बदलेको छ। परिस्थितिले सबैको घरमा मही बनाउने अवस्था नहुन सक्छ। गाई, भैँसी पाल्ने, ठेकी मदानी, अनि ठेकीको लागि जति चाहिने दही पनि।

शहरी जीवनशैलीमा हिजोआज दुध किनेर खाने चलन छ। कहिलेकाहिँ घरमा खाँदा खाँदै बचेको दुधलाई, दुध तताउँदा निस्केको तरबाट मही बनाउन मन लाग्नेले के गर्ने त?

कोही कोही थोरै तर दहीलाई हातले नै हल्लाएर मही बनाउने र नौनी निकाल्ने गर्छन् तर सबैले यो तरिकाबाट नौनी निकाल्न सक्दैनन्। यदि उपयुक्त तापक्रम र मोथाइको तरिका मिलेन भने नौनी नबन्न सक्छ र मही पनि।

कसरी बनाउने त मही?

हिजोआज धेरैको भान्छामा मसला पिन्नको लागि ‘मिक्स्चर ’ को प्रयोग हुन्छ। यदि घरमा मिक्चर छ भने यसलाई मही बनाउन प्रयोग गर्न सकिन्छ। मिक्स्चरमा मही बनाउनको लागि के के चाहिन्छ?

१. दही वा तर
२. तातो पानी
३. भाँडाहरु
४ चिसो पानी

यी सबै सामग्री तयार भएपछि मिक्स्चरमा मही बनाउन एक मिनेट, कहिलेकाहिँ एक मिनेट १० सेकेन्ड जति मिक्स्चर अन गर्नुपर्छ। धेरै समय मिक्स्चर चलायो भने नौनी पग्लन सक्छ। त्यस्तै महि थोरै समय भयो भने महिबाट नौनी राम्ररी निस्कदैन। मही कसरी बनाउने तरिका भिडियोमा हेर्न सकिन्छ।

महीमा चिल्लो पदार्थ कम हुने भएकोले स्वास्थ्यका हिसाबले पनि मही खानु उपयुक्त हुने डाक्टरहरु बताउँछन्।

मही बनाउन चाहिने दही वा तर धेरै दिन संकलन गरेको हुनुहुँदैन। यसले स्वादमा प्रभाव पार्छ। यदि धेरै दिनको भयो भने मही तितो हुन्छ।

साउन ८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्