डा. केसी सत्याग्रह २५ औँ दिनमा : स्वास्थ्य जटिल, सहमतिको प्रयास अझै धमिलो

काठमाडौँ – चिकित्सा शिक्षामा सुधारको माग गर्दै सत्याग्रहमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिँदै गएको छ । डा. केसीको सत्याग्रह यसअघिका भन्दा लामो हुँदै जाँदा उनको स्वास्थ्यमा देखिएको जटिलता पनि थपिँदै गएको हो ।

१५ औँ पटकको अनशनमा रहेका डा. केसी अहिले त्रिवि शिक्षण अस्पतालमा छन् । जुम्लाबाट सुरु गरेको डा. केसीको सत्याग्रह मंगलबार २५ औँ दिनमा प्रवेश गरेको छ ।

सत्याग्रहको झण्डै एक महिना हुन लाग्दा पनि सहमति गरी उनको जीवन रक्षाका लागि ठोस पहल हुन सकेको छैन । स्वास्थ्यमा गम्भीरता देखिएको र उनको जीवन रक्षाका लागि आफूहरु प्रतिबद्ध रहेको भन्दै सरकारले गएको बिहीबार डा. केसीलाई जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट काठमाडौँ ल्याएको हो ।

काठमाडौँ आएपछि पनि स्वास्थ्य परीक्षण गर्न वा स्वास्थ्य सेवा लिन अस्वीकार गरेका डा. केसीले सोमबार आमाको आग्रहमा परीक्षणका लागि स्वीकृति दिए ।

उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ भने उनका माग पूरा गराउने पक्षमा सरकारी तहबाट आवश्यक पहल भएको देखिएको छैन । सरकार डा. केसीको जीवन रक्षाका लागि प्रतिबद्ध नरहेको उनका समर्थकले आरोप लगाउने गरेका छन् ।

उनको मागको पक्ष र आन्दोलनको समर्थन तथा जीवन रक्षाका लागि नागरिक समाजका अगुवा तथा समाजका प्रवुद्ध समूह पनि आन्दोलनमा छन् । बसन्तपूरमा केही दिनदेखि सामूहिक सत्याग्रह हुँदै आएको छ ।

यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि उनको आन्दोलन र मागमा ऐक्यबद्धता जनाएको छ । तर सत्ता पक्षमा रहेका र समाजका अरु केहीले डा. केसीका मागलाई राजनीतिकरण गरिएको आरोप पनि लगाएका छन् । दैनिकजसो डा. केसीको समर्थन तथा माग पूरा गराउनका लागि दबाब दिने उद्देश्यले काठमाडौँसहितका ठाउँमा प्रदर्शन हुने गरेका छन् ।

डा. केसीले यसअघि १४ पटक अनशन बसिसकेका छन् । डा. केसी १५ औँ पटकको अनशनमा रहँदा पनि उनका माग लगभग उस्तै छन् ।

अहिले डा. केसीले माथेमा आयोगको मर्म अनुसार तयार भएको अध्यादेशमा तोडमोड नगरी चिकिस्सा शिक्षा विधेयक ल्याउनु पर्ने माग गरेका छन् । सरकारले संसदमा पेश गरेको विधेयकमा अध्यादेशको भावना तोडमोड गरिएको उनले बताएका छन् ।

साउन ८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्