द्वन्द्वकालको झल्को दिने सुरक्षा घेरामा सभामुख महराको कार्यक्रम

नेपालगञ्ज – क्याम्पसमा जताततै प्रहरी छन् । जनपथ, सशस्त्र प्रहरीसँगै नेपाली सेना पनि खटिएको छ । द्वन्द्वकालका बेलामा ठूलै व्यक्ति आउदा यस्तो झलक देखिन्थ्यो ।

समय परिस्थिति बदलियो । सशस्त्र द्वन्द्वकाल सकियो । देश शान्तिमय हुँदै गयो । राजनीतिक संक्रमण एकप्रकारले समाप्तीको चरणमा छ । मंगलबार नेपालगञ्जमा सभामुख कृष्णबहादुर महरा आउदा भने ‘द्वन्द्वकालिन समय’को याद दिलायो ।

सभामुख महरा नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसका पूर्व विद्यार्थी हुन् । २०३४–३६ सालमा उनले आइएससी यही पढे । उनले गतवर्ष अर्थमन्त्री हुँदा यो क्याम्पसलाई केही रकम सहयोग गरेका थिए । त्यही रकमबाट निर्माण हुन थालेको नयाँ शैक्षिक भवनको शिलान्यास गर्न आउदा महरालाई यत्तिका ‘पहरा’ दिइएको थियो ।

हुन त महराले तीन दिनअघि ५ गते नै नयाँ भवनको शिलान्यास गर्ने कार्यक्रम तय गरेर निम्ता पठाइएको थियो । कांग्रेससम्बद्ध नेपाल विद्यार्थी संघले क्याम्पस प्रशासनसँगको असहमतिले गर्दा महराको कार्यक्रमलाई ‘प्रभाव’ पार्ने विज्ञप्ती निकालेपछि कार्यक्रम स¥यो । विद्यार्थीले फेरि पनि त्यस्तो केही हर्कत गर्न सक्ने आशंकाले तिनैवटै सुरक्षा निकाय परिचालन भएका थिए ।

असन्तुष्टिलगायत सबै विद्यार्थी सहमतिमा आइसकेका थिए । त्यसवावजुद कडा सुरक्षा घेराभित्र महराको कार्यक्रम भयो । सभामुख महराले चार करोड ९२ लाखमा बन्न थालेको दुई तले नयाँ शैक्षिक भवनको शिलान्यास गरे ।

भवनको शिलान्यास र पूजापाठ महराले जुत्ता नफुकालेर गरे । शिलान्यासका लागि दुई वटा इट्टामा सिमेन्ट हाल्न थाल्दा महराले जुत्ता खोल्नु पर्छ भनेर सोधनी त भयो । तर, कोही पनि नबोलेपछि उनले जुत्ता लगाएरै सबै काम गरे ।

सो अवसरमा सभामुख महराले आफू पढ्दा यो क्याम्पसमा तीन सय विद्यार्थी हुने गरेको र अहिले चार हजार पाँच सय रहेको बताए । महराले रोल्पा, दाङ भएर भारतको बहराइच, गोण्डा हुँदै नेपालगञ्ज आउने गरेको स्मरण गरे । उनले पश्चिम नेपालको शैक्षिक हब नेपालगञ्जको विकासमा आफूले सक्दो गर्ने बताए ।

भारत र चीनले गरिरहेको दु्रतगतिको विकासको लाभ नेपालले लिनु पर्ने बताएका महराले संघीयता कार्यान्वयनमा लागि परेको बताए । ‘संघीयता कार्यान्वयनका लागि कानूनहरु बनाउन लागि परेका छौं, महराले भने, एकाध व्यक्तिले अवरोध गर्दैमा हाम्रो गन्तब्य रोकिदैन ।’

सांसदद्वय महेश्वर गहतराज र नन्दलाल रोकायले नेपालगञ्ज विश्वविद्यालयको विधेयक दराजमा अड्किएकाले त्यसलाई केही परिमार्जन गरेर ल्याउनु पर्ने बताए । उनीहरुले नेपालगञ्जमा एउटा आइटी विश्वविद्यालयको आवश्यकता रहेको बताए ।

कार्यक्रममा प्राध्यापक, कर्मचारी संघ, अखिल, अखिल क्रान्तिकारी, नेविसंघका क्याम्पसस्तरीय नेताले आ–आफ्ना धारणा राखेका थिए । क्याम्पस प्रशासनले पूर्व क्याम्पस प्रमुख गोपालप्रसाद अधिकारी र मोहनजंग शाहलाई सम्मान गरेको थियो ।

क्याम्पस प्रमुख गणेश रेग्मीले शिलान्यास गरेको भवन एक वर्षमा सम्पन्न गर्ने सम्झौता गरेर काम अगाडि बढाएको बताए ।

साउन ८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्