सरकारी टोलीसँग केसीको पक्षको  दिनभरि वार्ता, सकारात्मक रहेको दाबी

काठमाडौँ-  डा. गोविन्द केसीले आमरण अनशन सुरु गरेको २५ औँ दिनमा सरकारी पक्ष समस्या समाधान गर्न तत्पर देखिएको छ। मंगलबार साँझ पनि दुवै पक्षबीच सिंहदरबारमा वार्ता भइरहेको छ। वार्ताद्वारा समस्या समाधान गर्न दुवै पक्ष तत्पर रहेको मंगलबारको विकासक्रमले देखाएको छ।

मंगलबार साँझको वार्ता शिक्षा मन्त्रालयमा भइरहेको छ जहाँ समस्या समाधानमा दुवै पक्ष तत्पर देखिएको सहभागीहरुले बताएका छन्।

बालुवाटारमा मंगलबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, चिकित्सा अध्ययन कार्यदलका प्रमुख केदारभक्त माथेमा, दिग्विजयसिंह बस्नेतलगायतबीच केसीका माग कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा वार्ता भएको छ। त्यो वार्तापछि सिंहदरबारस्थित नेकपा संसदीय दल कार्यालयमा अर्को चरणको वार्ता भएको नेकपाका नेता सुवास नेम्वाङले जानकारी गराएका छन्।

नेम्वाङका अनुसार वार्ता सकारात्मक छ भने जतिसक्दो चाँडो अनशन तोडाउने पक्षमा सरकारी टोली लागिपरेको छ। उनले  मंगलबार साँझ देशसञ्चारसँग भने, ‘वार्ता सकारात्मक छ, छलफल सक्रिय छ।’

सरकारी वार्ता टोलीसँग छलफलका क्रममा गोविन्द केसी पक्षले संसदमा विचाराधीन विधेयकमा केके संशोधन गर्नुपर्छ भन्नेबारे एउटा अनौपचारिक प्रस्ताव पनि बुझाएका छन्। उक्त प्रस्ताव प्रस्तावित मनमोहन शिक्षण अस्पतालप्रति नरम देखिएको विश्लेषण गरिएको छ। प्रस्तावमा छ, ‘यो एेन प्रारम्भ भएका बेला काठमाडौँ उपत्याभित्र आशयपत्रपाइकेका मेडिकल कलेजहरुले तोकेको समयभित्र आवश्यक सर्त पूरा नगरेमा त्यस्ता शीक्षण स्स्थाको नवीकरण गरिने छैन।’ प्रस्तावित मनमोहन मेडिकल कलेजले यसअघि नै आशयपत्र पाइसकेको छ।

एेन प्रारम्भ भएको पाँच वर्षपछि स्वास्थ्य क्षेत्रका प्रमाणपत्र तहभन्दा तलका पढाइ नहुने पनि प्रस्तावमा उल्लेख छ। प्रमाणपत्र तहबाट मात्र पढाइ सुरु हुने एनमा उल्लेख छ।

प्रस्तावमा एउटा विश्वविद्यालयले पाँचवटा मेडिकल कलेजमात्र खोल्न पाउनुपर्ने दस वर्षसम्म काठमाडौँमा मेडिकल कलेज खोल्न नपाइनेलगायत माग राखिएका छन्।

साउन ८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्