स्वतन्त्र उमेद्वारी दिएर चुनाव जितेका वडाअध्यक्ष भन्छन्, कर्मचारीले काम गर्नै दिएनन्

विराटनगर- ‘‘काम गर्ने उत्साह जागर त छ, तर वातावरण बन्न सकेको छैन’’ ,विराटनगरको ३६ डिग्री सेल्सियस तापक्रममा चियाको चुस्की लिँदै भन्दै थिए, वडा नम्बर १० का वडा अध्यक्ष माधवराज वाग्ले ।

एकवर्ष अघि सम्पन्न स्थानीय निकायको निर्वाचनका क्रममा वडा अध्यक्ष पदका लागि ५७ वर्षिय वाग्लेको उम्मेद्वारी सुरुमा तत्कालीन एमालेबाट थियो । तर, चरम राजनीति र गुटबन्दीको शिकार भए वाग्ले। स्थानीयको राम्रो साथ पाएका उनले पार्टीबाट टिकट नपाउने अवस्था नदेखेपछि, तत्कालै निर्णय गरे र स्वतन्त्रबाट उम्मेद्वारी दिए। नभन्दै उनी राम्रो मतका साथ अध्यक्ष पदमा विजयी भए ।

लामोसमयपछि जनप्रतिनिधिमा चुनिँदाको समयलाई सम्झदै वाग्ले भन्छन्, ‘‘त्यतिबेला जनप्रतिनिधि हुदा त गाँउ, टोल आरामले बनाइन्छ जस्तो लाग्थ्यो । तर, अहिले हेर्दा त साह्रै असहज पो रहेछ । भित्र भित्रै कर्मचारीको जालोले घुमाउँदो रहेछ ।’’

डुबानका क्रममा पानी निकास दिन बेल्चासहित अध्यक्ष वाग्ले । तस्बिर : अभयकुमार राई/देश सञ्चार

कसैले फोन गरेलगत्तै साइकल चढेर घटनास्थलमा पुग्ने वाग्ले यतिबेला सडक सम्याउने सन्दर्भले हैरान छन् । वर्षा लाग्यो सडक हिलाम्मे र डुबानमय छ । त्यसमा चिन्तित देखिए वाग्ले। ‘‘चुनाव जित्ने क्रममा राखिएको वाचा पुरा गर्न लागि परेपनि, हाल भइरहेको विकास निर्माणको कार्यले तनाव दिन्छ’’, उनी गुनासो गर्छन्।

सरकार र एसियाली विकास बैंकबीचको सम्झौता र स्थानीय तहमा भइरहेको एडीबीको प्रोजेक्टप्रति विराटनगर महानगरपालिकाका अधिकांश जनप्रतिनिधिको गुनासो रहेको उनको भनाई छ। ‘‘यस कार्यमा हामी त स्तर हेर्ने पात्रका रुपमा मात्र रहेकाछौँ। काम गर्न अलि भन्यो, ठेकेदारले समेत हामीलाई काम ढिलो हुनसक्ने चेतावनी दिन्छन्’’, उनको गुनासो छ ।

एक छोरी, श्रीमती र अविवाहित भाइका साथ पिपल चौकमा बसोबास गर्दै आएका वाग्ले समस्या धेरै रहेको र त्यसलाई समाधान गर्न आफूहरुसँग सीमित उपाय भएको बताउँछन् ।

उनी भन्छन्, ‘यहाँ सडकमा बत्ती लगाउन त नसकिने रहेछ, हामी त धेरै माथिको कुरा गर्दै हिड्दा रहेछौँ। वडा नम्बर १० मा कुल १ हजार १ सय भन्दा बढी बिजुलीको खम्बा छन् ।’

‘जसमध्ये अधिकांशमा रातिको समय बत्ती बल्दैन । महागनरको सबैभन्दा भ्रष्टाचार हुने स्थान नै बत्ती उपलब्ध गराउने फाट रहेको उनको बुझाइ छ। त्यहाबाट बत्ती निकाल्ननै धौ धौ पर्दछ’, उनी भन्छन् । महानगरपालिकाले बत्तीका लागि गतवर्ष ५१ लाख रुपैयाँ विनियोजन गरेको थियो । यसपटक १ करोड ५० लाख रुपैयाँ छु्ट्याएको छ। विगतमा सिएफएल बत्तीले राम्रो साथ नदिएको जनाउँदै महानगरले यसपटक भने, एलइडी बत्ती खरिद गर्ने योजना बनाएको उनी बताउँछन्।

कालोपत्रे सडकको निरीक्षणका क्रममा वाग्ले

यसक्रममा उनी हरेक बिहान ४ बजेनै बीएसए साइकलमा सवार हुँदै सडक तथा सडक बत्ती नियाल्दै वडा डुल्छन् । सानै उमेरदेखि साइकलमा सवार वाग्ले अझै पनि साइकलमै हिँड्न रुचाउँछन् ।

आउने असोज कार्तिकबाट भने उनको साइकलले समेत विश्राम पाउनेछ । विराटनगर महानगरपालिकाको दोश्रो नगर परिषद् बैठकले महानगरका १९ वटै वडाअध्यक्षका लागि मोटरसाइकल उपलब्ध गराउने निर्णय गरेको छ ।

यसअघि महानगरको बैठकमा अन्य वडाअध्यक्षहरुले समेत उनलाइ बैठकमा मोटरसाइकल मागका लागि अघि नसारेका होइनन् । तर उनी त्यसको विपक्षमा उभिए। ‘‘साथीहरुलाई म सम्झाउँथे कि हामी मोटर चढ्न आएका होइनौँ। यहा काम गर्नु छ र जनतालाई त्यसको प्रत्याभूति दिलाउनु छ’’, उनी भन्छन्।

‘‘यहा १९ वटामा म मात्रै होला जो महानगर दैनिककार्यमा साइकलमा पुग्थे । हामी मध्ये तीन जना वडाअध्यक्षको त कार समेत छ । अब उहाँहरु मोटरसाइकल चलाउनु हुन्छ कि कार’’ उनले मुस्काउदै भने । महानगरले यसपटक १९ वडा अध्यक्षलाई मोटरसाइकल र ल्यापटप प्रदान गर्दैछ जसका लागि ५० लाख रुपैया समेत छुटाइसकेको छ ।

अघिल्लोपटक सीमित बजेटमा कार्य गर्नुपरेको तितो अनुभव सुनाएका वाग्लेले यसपटक भने महानगरबाट १ करोड ५० लाख बजेट र सिलिंगबाट १ करोड गरि कुल २ करोड ५० लाख रुपैयाँ बजेट पार्न सफल भए । यस बजेटबाट वडामा केही हुन्छ कि भन्ने आशा उनले राखेका छन् । बजेटले पहिले वडाको लागि जग्गा र भवनमा रकम खर्चने उनको योजना छ ।

तीन दशकभन्दा लामोसमय राजनीतिक जीवनबाट फड्को मार्दै अध्यक्ष वाग्लेले महानगरपालिकाले कर्मचारी समेत दिन नसक्दा आफूहरुलाई गाह्रो भएको गुनासो गरेका छन् । वाग्लेले राजनीतिक जीवन सुरुआतमा माले हुँदै एमालेमा बिताए । तर, गतवर्ष सम्पन्न निर्वाचनमा एमालेबाट अन्तिम समयमा टिकट नपाउदा स्वतन्त्रबाट अघि बढेका थिए ।

उनी भन्छन्, ‘‘हिजोको दिनमा राजनीति गरिरहँदा माले, एमाले भए होला, तर अब म नितान्त स्वतन्त्र र जनताको चहाना बमोजिम काम गर्ने जनप्रतिनिधि मात्र भएको छु।’’

उनले मालेमा हुँदा सेल कमिटी, युवा संघको पहिलो निर्वाचित नगरअध्यक्ष, दुईपटक वडा सचिवको जिम्मेवारी समेत वहन गरिसकेका छन् ।

स्थानीय निर्वाचनका क्रममा उनले पार्टीविरुद्ध उम्मेद्वारी दिएपछि पार्टीले निलम्बन गरेको थियो । तथापि, निर्वाचनको नतिजापछि भने पुनः पार्टीले निलम्बन फुकुवा गरेको उनी बताउँछन् ।

साउन ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्