कांग्रेसद्वारा आज पनि राष्ट्रियसभा बैठक अवरुद्ध

फाइल फोटो

काठमाडौं – बुधबार पनि राष्ट्रियसभाको बैठक अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चिकित्सा शिक्षाको सुधारको माग राख्दै अनशन बस्दै आएका डा. गोविन्द केसीको माग पूरा नभएसम्म बैठक चल्न नदिने भन्दै अवरोध गरेको हो ।

बैठकको सुरुमै कांग्रेसकातर्फबाट सांसद बद्री पाण्डेले केसीका माग पूरा गर्न सरकार बल्ल मंगलबारदेखि सक्रिय भएकाले उनका माग पूरा नभएसम्म बैठक चल्न नदिने बताएका थिए । मंगलबार पनि सत्ता वा विपक्षीमध्ये कसले पहिला बोल्ने भन्ने विषयमा विवाद हुँदा कांग्रेसले बैठक अवरोध गरेको थियो ।

राष्ट्रियसभा सदस्य पाण्डेले केसीको अवस्था चिन्ता जनक अवस्था पुग्दा बल्ल सरकार बिउझिएको आरोप लगाए । उनले राष्ट्रियसभामा भने, ‘हिजोबाट सरकार बिउझिएको छ । सरकारले दुई तिहाइको बहुमतको दभ्य देखाएर केसीका जायज मागलाई बेवास्ता गरिरहेको छ । उनका माग पूरा नभएसम्म बैठक चल्न सक्दैन ।’

कांग्रेसले कानुनमन्त्रीको राजीनामाको स्वागत गरेको छ । बंगलादेश पढ्न जाने छात्राबारे आपत्तिजनक टिप्पणी दिएको भन्दै नेकपाले कानुनमन्त्री शेरबहादुर तामाङलाई मंगलबार राजीनामा गराएको थियो । सांसद पाण्डेले कानुनीमन्त्र पदमुक्त भए पनि त्यो भन्दा आपत्तिजनक अभिव्यक्ति दिने दुर्गा प्रसाईंलाई पनि कारबाही गर्न माग गरे ।

उनले प्रसाईंलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउन राष्ट्रियसभा र सरकारको ध्यानाकर्षण गराए । सत्ता पक्षका सांसद रामनारायण बिडारीले विपक्षीको अवरोध नियमविपरीत भएको भन्दै आपत्ति जनाए । उनले राष्ट्रियसभाको कुन नियमावलीअुनसार अवरोध गरेको हो ? भन्दै प्रश्न गरे ।

कांग्रेसको अवरोधपछि बैठक १६ गतेसम्मका लागि स्थगित भएको छ । प्रतिनिधिसभामा पनि कांग्रेसले केसीको माग सम्बोधन गर्न माग गर्दै अवरोध गरेपछि साउन ३ गतेपछि एक्कैपटक ११ गतेलाई बैठक राखिएको छ । बैठक लामो सयमसम्म स्थगित गरिँदा सत्ता पक्षलाई राहत मिलेको छ।

साउन ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्