चार घण्टा उच्चस्तरीय छलफल

डा. केसीको मूख्य माग पूरा गर्न सरकारलाई मुश्किल

काठमाडौँ –  अनशनरत डा. गोविन्द केसीको मूख्य माग पूरा गर्न सरकारलाई मुश्किल परेको छ।

उपत्यकामा १० वर्षसम्म मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने भन्ने डा. केसीको माग सम्बाेधन गर्न सरकार लचक भए पनि संसदको क्षेत्राधिकार मिच्ने कि नमिच्ने भन्नेमा दुविधामा परेको हो।

डा. केसीका बाँकी ६ वटा माग पूरा गर्न सरकार लगभग तयार भइसकेको सरकार र डा.केसीबिचको वार्ताका लागि समन्वय गरिरहेका नेपाल कम्युनिष्ट पार्टीेका (नेकपा) नेता सुवासचन्द्र नेम्वाङले देशसञ्चारलाई जानकारी दिए।

‘विधेयक संसदमा छ । जे गर्नु पर्छ त्यसलाई त्यहिँबाट टुंगो लागाउनु पर्ने हुन्छ। संसदको अधिकारलाई पनि ध्यान दिँदै सरकार लचक छ। डा. केसीले माग गरेको धरैजसो विषयमा सरकार सकारात्मक छ । छिट्टै नै निकास निस्कने छ’, नेम्वाङले देशसञ्चारसँग भने ।

बुधबार बिहान प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा चार घण्टा छलफल भएको हो।

डा. केसीका अन्य माग पूरा गर्दा सरकार तयार भएको तर संसदमा दर्ता भइसकेको चिकित्सा शिक्षा विधेयकलाई चलाउने कि नचलाउने भन्नेबारे अझै बहस गर्न आवश्यक भएको छलफलको निष्कर्ष छ।

‘अत्याधिक लचकताका साथ वार्तालाई अगाडि बढाउने र यसलाई टुंगोमा पुर्‍याउनु पर्छ’, नेम्वाङले प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै भने।

प्रधानमन्त्री ओली, उनका पार्टी समकक्षी पुष्पकमल दाहाल, नेता नेम्वाङ, माथेमा प्रतिवेदन निर्माण कार्यदलका अध्यक्ष केदारभक्त माथेमा, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बास्तोला, डा. दिव्या सिंह लगायतले उक्त विषयामा चार घण्टासम्म छलफल गरेका हुन्।

बिहीबार डा. केसीपक्षले सकारी वार्ता टोलीलाई बुझाएको चिकित्सा शिक्षा विधेयकका २५ बुँदामा संशोधन प्रस्तावबारे पनि छलफल भएको छ ।

संशोधन मस्यौदामा विधेयकबाट हटाइएका काठमाडौँ उपत्यकामा १० वर्ष नयाँ मेडिकल नखोल्ने, एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने, सम्बन्धनका लागि तीन सय शैयाको अस्पताल कम्तीमा ३ वर्षसम्म सञ्चालन भएको हुनुपर्ने, सरकारी मेडिकल कलेजमा ७५ प्रतिशत सिट निःशुल्क हुनुपर्ने लगायत प्रमुख विषय समेटिएका छन्।

छलफलपछि प्रधानमन्त्री ओलीले डा. केसी पक्षसँग छलफल गर्न सरकारी वार्ता टोलीलाई बोलाएर निर्देशन समेत दिएका छन्।

यसपछि सरकारी वार्ता टोली र डा. केसीका तर्फबाट खटिएका टोलीबीच वार्ता हुने छ।

साउन ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्