अटो रिक्सा व्‍यावसायी र प्रहरीबीचको झडपमा पाँच प्रहरी घाइते

भरतपुर महानगरमा प्रहरीको हवाइ फायर, रिक्सा चालक गम्भीर घाइते

भरतपुरमा प्रहरीले चलाएको गोली लागेर घाइतेे भएका अटो रिक्सा चालक महेन्द्र सुनार। उनको अलाइभ अस्पतालमा उपचार भइरहेको छ। तस्बिर- राजु चौधरी /चितवन

काठमाडौँ – भरतपुर महानगरपालिकाे तीनपाङ्ग्रे सवारीसाधनलाई मुख्य राजमार्गमा गुड्न रोक लगाएपछि अटो रिक्सा तथा ट्याम्पो व्यवसायी र प्रहरीबीच झडप भएको छ।

अटो रिक्सा तथा ट्याम्पोलाई राजमार्गमा गुड्न नदिने भरतपुर महानगरपालिकाको निर्णयको विरुद्धमा आन्दोलनमा उत्रिएका मजदुर एवं व्यवसायी र प्रहरीबीच झडप भएको हो ।

झडपमा प्रहरीले हवाइ फायर गर्दा  प्रदर्शनमा उत्रिका केही अटो व्‍यावसायीहरु घाइते भएका छन्। प्रदर्शनमा उत्रिएका महेन्द्र सुनारलाई प्रहरीको गोली लागेको छ।  गोली लागेर गम्भीर घाइते भएका सुनारको  अलाइभ अस्पतालमा उपचार भइरहेको छ।

यस्तै झडपमा पाँच जना प्रहरी घाइते समेत भएका छन्।  घाइते हुनेहरुमा प्रहरी जवान हर्कबहादुर दराई ,नेत्र बुढाथोकी,केशव पाण्डे,सुरज विक र गोपाल पाठक रहेका छन्। उनीहरुको भरतपुरमा अस्पतालमा उपचार भैरहेको छ ।

प्रदर्शनकारीले सडकमा बालेको आगो। महानगरपालिकाले सडकमा अटो रिक्सा गुड्नमा रोक लगाएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन्। तस्बिर-राजु चौधरी/चितवन

आन्दोलनकारीहरुले प्रहरी चौकी अगाडि रहेको एक मोटरसाइकलमा आगजनी गरेका थिए।  जर्वजस्ती राजमार्ग बन्द गरेर आवागमन प्रभावित गरेपछि खुलाउने क्रममा झडप भएको थियो । आन्दोलनकारीहरु उग्र बन्दै आगजनीमा उत्रन थालेपछि बल प्रयोग गर्नुपरेको प्रहरीले जनाएको छ । प्रहरीले केहि आन्दोलनकारीहरुलाई पक्राउ गरेको छ ।

भरतपुर महानगरपालिकाले गएको साउन ५ गतेदेखि राजमार्ग क्षेत्रमा अटो रिक्सा र ट्याम्पो चलाउन रोक लगाउने निर्णय गरेको थियो। सो निर्णयको विरोधमा उच्च अदालत हेटौडामा अटो व्‍यावसायिले मुद्दा हालेका थिए। तर अदालतले वैकल्पिक सडक भएका स्थानमा अटो रिक्सा राजमार्गमा चलाउन नदिन महानगरको पक्षमा फैसला गरेको थियो।

तथापि सहमति नभएपछि महानगर र मजदुर एवम् अटो व्यवसायीबीच मंगलवार र बुधबार विहान छलफल हुँदा निष्कर्षमा पुगेको थिएन। महानगरले नचलाउन गरेको आग्रहलाई अटो व्‍यावसायीहरुले बहिस्कार गर्दै सडकमा रिक्सा गुडाएपछि झडपको स्थिति बनेको चितवनका प्रहरी प्रमुख शुशिल सिंह राठौरले जानकारी दिए।

साउन ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्