एउटै मञ्चमा नेविसंघका अध्यक्ष र महामन्त्रीको आरोप–प्रत्यारोप

काठमाडौँ – नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महर र महामन्त्री कुन्दनराज काफ्ले आरोप–प्रत्यारोपमा उत्रेका छन् ।

बुधबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष नैनसिंह महरले आफ्नो कार्यकाल सफल भएको दाबी गरेपछि महामन्त्री काफ्लेले सभापतिले संठगनलाई चलायमान बनाउन नसकेको आरोप लगाए ।

नेविसंघ सभापति महरले सुरुमै संगठनको विधानअनुसार काम गर्न कुन्दन काफ्ले नेतृत्वको समुहलाई आग्रह गरे । उनले भने,‘नेविसंघको आफ्नै विधि र विधान छ, हामी सबैले विधि÷विधानको कार्यान्वयन गर्नुपर्छ, मेरो पालामा भएका संगठनहरुलाई जिवित राखेर, खाली भएको स्थानमामात्रै मैले पत्र काटेर समिति निर्माण गर्न भनेको थिएँ, नेपाल विद्यार्थी संघको नेतृत्व बहुमतमा छ कि छैन् ? भनेर जानकारी गराउने माध्यम भनेको केन्द्रीय समितिको बैठक नै हो, केन्द्रीय समितिको बैठक नबसि मनलाग्दी तरिकाले कुरा गरेर हुँदैन, पार्टीको गुटबन्दीमा परेर नेविसंघ भत्केको हो ।’

सभापति महरले संगठनको विधि अनुसार तोकिएकै मिति साउन २३ गते महाधिवेशन सम्पन्न गर्न आफू लागिरहेको सुनाए । यद्धपी तोकिएकै मितिमा सम्पन्न गर्न नसके तीन महिनापछि महाधिवेशन गर्ने उनको भनाई छ ।

उनले भने,‘संगठनको महाधिवेशन समयमै सम्पन्न गर्न नेतृत्व एकदम सक्षम छ, साउन २३ गतेको मिति विचारणीय छ, यदि त्यो समयमा महाधिबेशन भएन भने कार्तिक २३ गते हुन्छ, १ हजार भन्दा कम प्रतिनिधिहरुको उपस्थितिमा महाधिवेशन सम्पन्न हुनेछ ।’

त्यस्तै कार्यक्रममा नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले संघको नेतृत्वले संगठनलाई उचित रुपमा व्यबस्थापन गर्न नसकेको आरोप लगाए।
महामन्त्रीले काफलेले भने,‘नेतृत्व अल्पमतमा छ, संगठनको विधि/विधान अनुसार चलेको छैन्, संघको १२ औं महाधिवेशन तोकिएकै मितिमा हुनुपर्छ भनेर हामीले पहिले नै मिति घोषणा गरेका छौं, पार्टीको निर्देशनलाई मध्येनजर गर्दै हामी अघि बढ्ने छौं ।’

साउन ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्