अझै पुगेनन् जाजरकोटको स्थानीय तहमा बैँक

जाजरकोट- जाजरकोटका अधिकांश स्थानीय तहमा अझै बैँक स्थापना हुन सकेका छैनन्।

जिल्लाका सात स्थानीय तहमध्ये तीन स्थानीय तहमा बैँक स्थापना भए पनि बाँकी चार ठाउँमा अझै स्थापना हुन नसकेका हुन्। बैँक स्थापना नहुँदा ग्रामीण क्षेत्रबाट सामान्य कामका लागि पनि जिल्ला सदरमुकाम आउनुपर्ने बाध्यता भएको बारेकोट गाउँपालिका वडा नं ७ का प्रेम शाहीले बताए।

वृद्धभत्तादेखि उपभोक्ता समितिसम्म सदरमुकाम गई लामो समयसम्म बस्दा खर्च वढी हुने गरेको छ । रु ३० हजारको योजनादेखि लाखौँ योजनामा काम गर्ने उपभोक्ता सदरमुकाममा आउँदा समस्या भएको छ।

ठूलो योजना भएका त ठीकै भए पनि साना योजना भएका उपभोक्ताको रकम बैँक जाँदा र आउँदा आधा खर्च हुने गरेको जुनिचाँदे गाउँपालिका वडा नं ८ का नरबहादुर बुढाले बताए।

जुनिचाँदे, बारेकोट, शिवालय र कुशे गाउँपालिकामा बैँक स्थापना भएको छैन । यी अधिकांश ठाउँका रहेका स्थानीय सरकारका कार्यालयसमेत सदरमुकाममा छन् । मोटो रकम बाटामा बोकेर ल्याउँदा सुरक्षा चुनौती भएको कर्मचारी बताउँछन्।

द्वन्द्वकालमा विस्थापित बैंकसमेत स्थापित हुन नसक्दा थप समस्या परेको छ। नलगाड नगरपालिकाको दल्लीबाट विस्थापित नेपाल बैँकको शाखा अहिलेसम्म पूर्ण स्थापना हुन सकेको छैन।

साउन ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्