साउदीमा सम्झौता सकिएपछि कम्पनीले नै बेच्यो

जाँदाजस्तै फर्किंदा पनि ऋण काढेर फर्किए १२ नेपाली

लमजुङको कर्पुटारका देवराज अधिकारी बुधबार मलीन अनुहारमा वैदेशिक रोजगार विभागमा भेटिए। झट्ट हेर्दा देवराजसँग कुनै दुःख पीडा देखिँदैनथ्यो।

लरक्क परेको कपालमाथि कालो चस्मा। रातो–कालो मिसिएको ठूलो झोला बोकेका, साइडमा सानो कालो झोला पनि। झट्ट देख्नेका लागि देवराज राम्रै देशका लाहुरे हुन्।

तर, उनको वास्तविकता यस्तो हैन । साउदीमा २६ महिना बस्दा दुखान्तका दिन बिताउनु पर्‍यो। सम्झौता अनुसारको काम गर्दा पनि पुरै तलब दिएन र आफ्नै देश फर्किन पनि कष्ट गर्नु पर्‍यो। मंगलबार बिहान सँगै फर्किएका थिए १२ जना उही पीडा भोगेर साउदीबाट। दुई जना साथीले त बिरामी हुँदा घर जान्छुभन्दा पनि पाएनन्।

सँगै गएका साथीहरु सल्यानका भरत गिरी र अशोक गिरी, रौतहटका धिरेन्द्र सहनी, नुवाकोटका वुद्ध तामाङ तथा राज तामाङ र धनकुटाका साजन पुवाँर मगर लगायत १२ जना सँगै फर्किए।

उनीहरुसँग २६ महिना पहिले सन् २०१६ को मे २५ तारिखमा नेपाल छाड्दै गर्दा सपना फरक थिए। साउदीका ठूला सहरमा सुविधासम्पन्न बसाइ। अनि, फर्किने दिनको कल्पना पनि यस्तो होला भन्ने छँदै थिएन। जुन फर्किएको भोलिपल्टै मुद्दामामिलामा कुद्नु पर्ला भन्ने। अनि, मिठो सपना देखाएर पठाउने म्यानपावर कम्पनीका विरुद्ध उजुरी गर्नु पर्ला भन्ने जाँदाको कल्पना थिएन।

मंगलबार नेपाल फर्किएका देवराज र उनका साथीहरु सिधै घर जान पाएनन्। किनकि उनीहरुलाई साउदीको कम्पनीले पूरै तलब दिएको छैन। २ महिना १० दिनको तलब पाएनन्। फर्किंदा कम्पनीले दिनुपर्ने हवाई टिकट पनि आफैं काट्नु पर्‍यो। आफन्त र साथीभाइसँग ऋण काढेर फर्किएका छन् उनीहरु।

समूहका अलि अनुभवी हुन् देवराज। देवराजका लागि परदेश पहिलो हैन। वैदेशिक रोजगारीकै सिलसिलामा यस अघि कतार गएर फर्किएका थिए । कतारमा राम्रो कमाइ भएन। त्यसैले गन्तव्य फेरे, साउदी अरब।

त्यो साउदी आज उनलाई सम्झन मन छैन। बोल्दा भकानिएका देवराजलाई साउदीको तितो अनुभवले दुखाइरहेको थियो। सायद साउदीको दुखान्त सम्झिए होलान्, देवराजले!

आफू २ हजार रियालमा बेचिएको सुन्नु पर्‍यो। २ वर्षको सम्झौता सकिएपछि फर्किन खोज्दा त्यो कम्पनीले अर्कै कम्पनीमा पठाएको थियो, त्यहीँ रहेछ बेचिएको। नेपालबाट वैदेशिक रोजगारीका नाममा जाने महिलामाथिको बेचबिखन त नौला हैनन्। देवराजले पनि सुनेका थिए त्यस्ता घटना।

जब आफैं बेचिएको थाहा पाए, त्यो चाहिँ उनले सुनेजस्तो पाराको थिएन। दुई महिनासम्म तलब नदिएको कम्पनीले तलब माग्दा किनेको भन्यो २ हजारमा। जति काम गरेपनि बेचिएको मान्छेले तलव नपाउने भएपछि देवराज र उनका साथीहरुले नेपाल फर्किने निधो गरे।

यहि कुरा राखे कम्पनीमा, फर्किन टिकट मागे। तर कम्पनीले उनीहरुलाई कोठाबाट निकालेर सडकमा पुर्‍यायो। खाना पनि नदिएर मागेर खाने बनायो कम्पनीले, ऋण काढेर फर्किनु पर्ने ।

रोजगारी गरेर कमाएर फर्किने आशा बोकेर गएकाहरुले नै माग्नु पर्ने अवस्था बन्यो साउदीमा। पहिले कमाएको रकम पनि घर परिवारमा पठाइसकेका थिए। अहिले तलव छाडेर आएको धेरैले परिवारमा सुनाएका छैनन्। सल्यानको सारदा नगरपालिकाका अशोक गिरीका परिवारलाई पनि थाहा छैन, अशोक कसरी फर्किएका हुन् भनेर।

काठमाडौँ आएपछि फोन गरेका अशोकले भनेका छन्, ‘म काठमाडौँ आइपुगें केही दिन काम मिलाएर आउँछु घर।’ उनले भनेका छैनन् साउदीमा कम्पनीले तलव दिएन, मुद्दा मामिला गर्दैछु म्यानपावरविरुद्ध भनेर।

दुख त उनीहरुसँग तलब नपाएको मात्रै होइन। दुई जना साथीहरु बिरामी भएपछि घर पठाउन आग्रह गर्दा कम्पनीले नमानेकोमा पनि लागेको छ। करार अवधि सकिएपछि घर फर्किन टिकट माग्दा तिमीहरुलाई किनेको हो, जाने भए आफैं जाओ टिकट दिन्न भन्यो।

जेसँग टिकट माग्ने उनीहरुको अधिकार थियो, ऊ अर्कै कम्पनीमा सारेर मुक्त भैसकेको थियो। म्यानपावर कम्पनीले पनि मिलाउँछु मिलाउँछु भन्यो, मिलाउन सकेन। दूतावासलाई फोन गरेर जानकारी गराए, सहयोग मागे। तर दूतावासले पनि सुनेको नसुनै गर्‍यो।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई फोन गरे। विष्टले पनि उनीहरुका कुरा सुनेनन्। आखिर कसैबाट सहयोग नपाएपछि ८ सय रियालका दरले आफैं टिकट काटे र दुई महिना १० दिनको तलव छाडेर नेपाल फर्किए।

एक लाख २० हजार तिरेपछि १० हजार भन्‍न लगाएर रेकर्ड गरायो म्यानपावरले


ग्लोबल राइजिङ प्लेसमेन्ट म्यानपावर कम्पनीबाट १ लाखदेखि १ लाख २० हजार रुपैयाँसम्म तिरेर गएका हुन्। त्यो रकम सबैले ऋण नै लिएका थिए। म्यानपावरले १० हजार रुपैयाँको टिकट थमाएको थियो त्यो पनि तत्कालै च्यात्नु भनेर।

त्यतिमै मात्रै म्यानपावर सीमित रहेन। एक लाख २० हजाररुपैयाँसम्म तिरेका उनीहरुलाई १० हजार रुपैयाँ मात्रै तिरेको भन्न लगाएर रेकर्ड गर्‍यो। जाने टुंगो भएपछि साँचो काम बताएको थियो, सरसफाइको काम हो जहाँ पनि पनि गर्नुपर्ने हुन्छ भनेर।

१२ सय तलवमा मसुल्ट फाउण्डेसन नायफ अल हर्वि कन्ट्रयाक्टिङ कम्पनीमा पुगेका थिए। साजन पुवार मगर र राज तामाङले विरामी हुँदा पनि घर फर्किन पाएनन्।

दुई महिना १० दिनको तलव र फर्किंदाको हवाई टिकटसहित ३ हजार १ सय ८४ साउदी रियाल प्रतिव्यक्ति (८९ हजार १ सय ५२ रुपैयाँ) उनीहरुले पाउन बाँकी छ। त्यो तलव दिलाउन माग गर्दै वैदेशिक रोजगार विभागमा म्यानपावर कम्पनीविरुद्ध बुधबार उजुरी दर्ता गर्न गए।

तर उजुरी लिएर जाँदा अबेर भैसकेको थियो। दर्ता हुन सकेन। बिहीबार उजुरी दर्ता गर्ने सल्लाह गरेर विभागबाट निराश हुँदै फर्कियो पीडितको लर्को।