पाकिस्तान : हिंसाका बिच चुनाव

धाँधलीको आरोप, पूर्व क्रिकेटर इमरानको पिटिआईलाई अग्रता

पाकिस्तानमा बुधबार संसदयी तथा चार प्रान्तको प्रान्तीय संसदका लागि चुनाव भयो । भयका बिच भएको चुनावमा क्वेटाको एक मतदान केन्द्र नजिकै भएको बिस्फोटमा परि कम्तिमा ३१ जनाको ज्यान गयो । अरु ठाउँमा पनि हिंसाका घटनाहरु भए ।

यसरी चुनौतीका बिच भएको मतदान स्थानीय समय अनुसार बुधबार बेलुका ६ बजे सकियो । त्यसपछि मतगणना सुरु भयो । तर आधा रात बित्दा पनि मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गरिएको थिए । जसले गर्दा निर्वाचन आयोगको आलोचना भएको थियो ।

धाँधलीको आरोप लागिरहेका बेला निर्वाचन आयोगले बिहीबार बिहान साढे चार बजे पहिलो आधिकारिक नतिजा सार्वजनिक गरेको छ ।

रावलपिण्डीमा पूर्व क्रिकेटर इमरान खानको पाकिस्तान तहरिक–ए–इन्साफ, पिटिआईका उम्मेदवार चौधरी मोहम्मद अदनान विजयी भएका छन् । प्रमुख निर्वाचन आयुक्त सरदार रजा खानले धाँधली भएको भन्दै भएको आरोप खारेज गरेका छन् ।

मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गर्न ढिलाइ हुनुमा प्राविधिक समस्या, सुरक्षा र मौसमी कारण रहेको उनले बताएका छन् ।

प्रारम्भिक नतिजामा इमरान खानको पार्टी पिटिआईले अग्रता लिएको छ । निवर्तमान सत्ताधारी पाकिस्तान मुस्लिम लिग–नवाज, पिएमएल–एन दोस्रो स्थानमा रहेको छ ।

४२ प्रतिशत मतदान केन्द्रको प्रारम्भिक नतिजामा पिटिआईले संसदका ११२ सिटमा अग्रता लिएको छ । यस्तै पिएमएल–एनले ६५ तथा पाकिस्ता पिपुल्स पार्टी, पिपिपीले ४३ सिटमा अग्रता लिएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

यस्तै प्रान्तीय चुनाव अन्तर्गत पञ्जाबमा अहिले सत्तामा रहेको पिएमएल–एनले ४० प्रतिशत मतदानकेन्द्रको प्रारम्भिक नतिजा आउँदा १३२ सिटमा अग्रता लिएको छ । यस्तै पिटिआईले उसलाई कडा टक्कर दिएको छ । पिटिआईले १२१ सिटीमा अग्रता कायम गरेको छ ।

खैबरपख्तुन्ख्वा प्रान्तमा भने पिटिआई अघि रहेको छ । उसले त्यहाँ ६६ सिटमा अग्रता लिएको छ । यस्तै मुट्टाहिद माजलिस–ए–अमल, एमएमएले १० सिटमा अग्रता लिएको छ । यहाँ ३५ प्रतिशत मतदान केन्द्रको प्रारम्भिक नतिजा आएको हो ।

यस्तै सिन्ध प्रान्तमा पिपिपीले अग्रता ल्उिको छ । २८ प्रतिशत मतदान केन्द्रको प्रारम्भिक नतिजा आउँदासम्म पिपिपीले ७३ तथा पिटिआईले २३ सिटीमा अग्रता लिएका छन् ।

बलुचिस्तान प्रान्तमा भने स्थानीय बलुचिस्तान अवामी पार्टी, बिएपीले अग्रता लिएको छ । २८ प्रतिशत मतदान केन्द्रको प्रारम्भिक नतिजा आउँदासम्म बिएपीले १४ तथा बलुतिस्तान नेशनल पार्टी, बिएनपीले ९ सिटमा अग्रता लिएको छ ।

धाँधलीको आरोप


मतगणनाको नतिजा सार्वजनिक गर्न ढिलाइ भएपछि धाँधलीको आरोप लागिरहेको छ । पिएमएल–एनका शहबाज शरीफले धाँधलीको आरोप लगाएका छन् ।

आफ्नो पार्टीका एजेन्टलाई फरक व्यवहार गरिएको उनको भनाई छ । अरु केही पार्टीले पनि यस्तै अरोप लगाएका छन् ।

तर प्रारम्भिक नतिजामा अग्रता लिएको पिटिआईका कार्यकर्ताले देशभर उत्सव मनाउन सुरु गरेका छन् ।

पाकिस्तानमा बुधबार २७२ संसदीय सिटका लागि चुनाव भएको छ । यहाँ ७० सिट महिला तथा अल्पसंख्यकका लागि आरक्षित रहेको छ । पाँच प्रतिशत भन्दा बढी मत ल्याउने दलबिच यो आरक्षित सिट बाँडिन्छ ।

साउन १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्