विपद

टिमुरेमा पहिरो : ज्यान गुमाउने चारैजना सिन्धुपाल्चोकका

फाइल तस्बिर

रसुवा– रसुवाको टिमुरेमा पहिरो जाँदा चारजनाको ज्यान गुमाएका चारैजनाको नाम खुलेको छ । जिल्ला प्रहरी कार्यालय रसुवाले दिएको जानकारी अनुसार ज्यान गुमाउने सबै सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका हुन् ।

पहिरोमा परि ज्यान गुमाउनेमा भोटेकोशी–५ का अन्दाजी ४२ वर्षका श्याम श्रेष्ठ, अन्दाजी ४५ वर्षका मंगल तामाङ र अन्दाजी २७ वर्षका बिक्रम श्रेष्ठ तथा भोटेकोशी–४ का अन्दाजी ३७ वर्षका रेशम खड्का रहेको प्रहरीले जानकारी दिएको छ ।

बुधबार राति लगातारको वर्षासँगै माथिबाट खसेको पहिरोले घर बगाउँदा चारजनाको ज्यान गएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । पहिरोका कारण प्रहरीको चेकपोष्टसहित दुई घर बगाएको रसुवाका डिएसपी सन्तोष तामाङले जानकारी दिए ।

अहिलेसम्म चारजनाको शव निकालिएको हो । पहिरोमा अरु पाँचजना बेपत्ता भएको हुन सक्ने आशंकामा खोजी तथा उद्धार कार्य जारी रहेको डिएसपी तामाङले जानकारी दिए ।

अहिलेसम्म १२ जनाको उद्धार गरिएको छ । ९ जना उपचारपछि घर फर्किएका छन् । राति १२ बजेर ४० मिनेट जाँदा पहिरो गएको हो ।

साउन १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्