डा. केसी र सरकारी पक्षबिच वार्ताको तयारी, सहमतिको प्रयास हुने

काठमाडौँ – २७ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीका मागका बारेमा छलफल गर्ने प्रयास फेरि सुरु भएको छ । बुधबार भएको सरकारी वार्ता टोली र डा. केसी पक्षको टोलीबिचको वार्तामा सहमति जुट्न सकेको थिएन ।

सरकारी पक्षले संसदमा प्रस्तुत चिकित्सा शिक्षा विधेयक फिर्ता लिन नसक्ने दोहोराएपछि डा. केसी पक्षले सरकारको व्यवहार परिवर्तन नभएसम्म वार्तामा नबस्ने घोषणा गरेको थियो ।

तर प्रधानमन्त्री केपी शर्मा ओलीको चासो र सक्रियतामा फेरि वार्ताको वातारण बनेको हो । प्रधानमन्त्री केपी ओलीले बुधबार राति डा. केसी पक्षलाई भेटेका थिए ।

प्रधानमन्त्री ओलीले सरकारले तर्फबाट तीनजनालाई सहमति खोज्ने जिम्मा दिएका छन् । सरकारले खटाएको टोली र डा. केसी पक्षका सदस्यबिच अहिले अनौपचारिक वार्ता भैइरहेको छ ।

डा. केसी पक्षका वार्ता टोलीका सदस्य डा. अभिषेक सिंहले सहमतिको प्रयासमा अहिले अनौपचारिक छलफल भैइरहेको र मध्याहन्नपछि औपचारिक वार्ता हुन सक्ने बताए ।

उनले बुधबार राति प्रधानमन्त्री लगायतको उच्चस्तरीय छलफलमा आफू संलग्न भएको र त्यो सकारात्मक रहेको उनको भनाई छ । उनका अनुसार बिहीबार सहमति हुने संभावना छ ।

डा. केसी पक्षले संसदमा प्रस्तुत विधेयकमा सच्याउनु पर्ने २२ बुँदा सरकारी टोली बुझाएको छ । सरकारी टोलीले ती बुँदामा कुरा नै गर्न नचाहेको केसी पक्षको आरोप छ ।

साउन १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्