फेरिँदै पाकिस्तानको नेतृत्व

प्रधानमन्त्री बन्ने बाटोमा इमरान खान, पिटिआईलाई आग्रता

पाकिस्तानमा बुधबार संसदीय तथा चार प्रान्तको प्रान्तीय संसदका लागि भएको चुनावको मतगणना जारी छ । मतदान सकिए लगत्तै मतगणना सुरु भएको हो । तर मत परिणाम भने निकै ढिलो गरेर सार्वजनिक भएको छ ।

मतगणना सुरुभएको १० घण्टापछि बिहीबार बिहान चार बजेपछि निर्वाचन आयोगले पहिलो प्रारम्भिक नतिजा सार्वजनिक गर्‍यो । त्यसमा पूर्व क्रिकेटर इमरान खानको पार्टी पाकिस्तान तहरिक–ए–इन्साफ, पिटिआईले अग्रता लिएको छ ।

निवर्तमान सत्तारुढ दल पाकिस्तान मुस्लिम लिग–नवाज, पिएमएल–एन र पाकिस्तान पिपुल्स पार्टी, पिपिपीसहितका पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएका छन् ।

प्रमुख निर्वाचन आयुक्त सरदार रजा खानले धाँधली भएको भन्दै भएको आरोप खारेज गरेका छन् । मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गर्न ढिलाइ हुनुमा प्राविधिक समस्या, सुरक्षा र मौसमी कारण रहेको उनले बताएका छन् ।

अहिलेसम्म आएको नतिजा (सरकारी निकायले सार्वजनिक गरेको होइन) मा केन्द्रिय संसद तर्फ पिटिआईले १० तथा पिएमएल–एन र पिपिपीले तीन–तीन सिटमा जित निकालेका छन् ।

यस्तै अन्य पार्टीका एकजनाले पनि जितेका छन् । यस्तै प्रान्तीय चुनावमा खैबर पख्तुनख्वामा पिटिआईले १५, अवामी नेशनल पार्टीले २ तथा एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

पञ्जाबमा पिएसमएल–एनले ९, पिटिआईले सात सिटमा जितेको छ । यसैगरी सिन्धमा पिपिपीले सात जित जितेको छ । बलुचिस्तान प्रान्तमा बलुचिस्तान अवामी पार्टीले दुई तथा बलुचिस्तान नेशनल पार्टीले एक जितमा जित निकालेको छ ।

पञ्जावमा १४१, सिन्धमा ६१, बलुचिस्तानमा १६, खैबर पख्तुनह्वाहमा ३९, फाटामा १२ तथा संघीय राजधानीमा ३ केन्द्रीय सिटीका लागि चुनाव भएको हो ।

समग्रमा पिटिआईले अग्रता लिएको छ र उसले सरकार बनाउने देखिएको छ । ४७ प्रतिशत मतदान केन्द्रको नतिजा आउँदा पिटिआईले ११४ सिटमा अग्रता लिएको छ । निवर्तमान सत्ताधारी पाकिस्तान मुस्लिम लिग–नवाजले ६४ तथा पाकिस्तान पिपुल्स पार्टी, पिपिपीले ४२ सिटमा अग्रता लिएको छ ।

यस्तै प्रान्तीय चुनाव अन्तर्गत पञ्जाबमा अहिले सत्तामा रहेको पिएमएल–एनले ५० प्रतिशत मतदानकेन्द्रको प्रारम्भिक नतिजा आउँदा १२९ सिटमा अग्रता लिएको छ । यस्तै पिटिआईले उसलाई कडा टक्कर दिएको छ । पिटिआईले १२२ सिटीमा अग्रता कायम गरेको छ ।

खैबरपख्तुन्ख्वा प्रान्तमा भने पिटिआई अघि रहेको छ । उसले त्यहाँ ६४ सिटमा अग्रता लिएको छ । यस्तै मुट्टाहिद माजलिस–ए–अमल, एमएमएले १२ सिटमा अग्रता लिएको छ । यहाँ ३५ प्रतिशत मतदान केन्द्रको प्रारम्भिक नतिजा आएको हो ।

यस्तै सिन्ध प्रान्तमा पिपिपीले अग्रता ल्उिको छ । ३७ प्रतिशत मतदान केन्द्रको प्रारम्भिक नतिजा आउँदासम्म पिपिपीले ७५ तथा पिटिआईले २२ सिटीमा अग्रता लिएका छन् ।

बलुचिस्तान प्रान्तमा भने स्थानीय बलुचिस्तान अवामी पार्टी, बिएपीले अग्रता लिएको छ । ३५ प्रतिशत मतदान केन्द्रको प्रारम्भिक नतिजा आउँदासम्म बिएपीले १२ तथा बलुतिस्तान नेशनल पार्टी, बिएनपीले ९ सिटमा अग्रता लिएको छ ।

प्रारम्भिक नतिजामा अग्रता लिएसँगै देशभर पिटिआईका समर्थकले उत्सव मनाइरहेका छन् । पिटिआईका प्रमुख इमरान खानले स्थानीय समय अनुसार दिउँसो २ बजे जनताको नाममा सम्बोधन गर्ने तयारी छ । उनले साथका लागि धन्यबाद दिनेछन् ।

साउन १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्