चन्द्र ग्रहणका बेला कहाँको मौसम कस्तो ?

काठमाडौँ – देशभरको मौसम शुक्रबार सामान्यतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी गतिविधि सक्रिय रहेकाले काठमाडौँ उपत्यकासहित देशभरको मौसम बदली हुने र हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । यस्तै केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना पनि छ ।

मौसम केही छिन खुलेको जस्तो भए पनि बलदी भइ पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै शुक्रबार राति खग्रास चन्द्र ग्रहण लाग्दैछ । मौसम विभागले यो अवधिका लागि विशेष मौसम पूर्वानुमान गरेको छ । बेलुकादेखि शनिबार बिहानसम्म देशभरको मौसम सामान्यदेखि पूर्ण बदली भइ धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको छ ।

दिपायल, बिरेन्द्रनगरसहितका क्षेत्रमा सामान्यदेखि पूर्ण बदली भइ हल्का तथा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै पोखरा र त्यस आसपासको मौसम पनि राति सामान्यदेखि पूर्ण बदली हुने र हल्का पानी पर्ने सम्भावना छ ।

काठमाडौँ उपत्यकासहित मध्य क्षेत्रमा पनि मौसम बदली हुने र हल्का वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ ।

यसैगरी धरानसहितका पूर्वी क्षेत्रमा मौसम सामान्यदेखि पूर्ण बदली हुने र धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । पूर्वका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना पनि छ ।

साउन ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्