गाउँपालिकाले ३३ लाख खर्च गर्न सकेन

डडेल्धुरा– गन्यापधुरा गाउँपालिकाको गत आर्थिक वर्षमा करिव ३३ लाख रुपैयाँ फ्रिज भएको छ । जनप्रतिनिधि निर्वाचित भएको वर्ष दिनको समीक्षा कार्यक्रममा उक्त गाउँपालिकाको आव २०७४/०७५ को कूल बजेटमध्ये ३२ लाख ८९ हजार ८३५ रकम खर्च हुन नसकेको हो ।

गत आवको कूल बजेट १३ करोड ७७ लाख १३ हजार ३५८ रुपैयाँमध्ये १३ करोड १५ लाख १६ हजार ९९० मात्रै खर्च भएको गाउँपालिकाले जनाएको छ । बिहीबार सार्वजनिक सुनुवाइ तथा वार्षिक समीक्षा कार्यक्रममा उक्त गाविसका लेखाप्रमुख महेशकुमार जोशीले खर्च विवरण प्रस्तुत गरेका थिए ।

गत आवमा गाउँपालिकाले सडकलाई मुख्य प्राथमिकतामा राख्दै दुई करोड ६६ लाखको लागतमा ७५ किलोमिटर सडक निर्माण गरिएको र भवन निर्माणमा एक करोड ५३ लाख खर्च भएको प्राविधिक केशव शाहुले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी २१ वटा खानेपानी योजनामा ९३ लाख २५ हजार र मिश्रित विकास निर्माणमा ५० लाख खर्च भएको जनाइएको थियो ।

साउन ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्