पाकिस्तान : चुनावी नतिजापछिको राजनीति

इमरानका विरोधीले गरे चुनावी नतिजा बहिष्कारको घोषणा, नयाँ चुनावको माग

चुनावी नतिजापछिको रणनीति तय गर्न बसेको बैठकपछि पूर्व प्रधानमन्त्री नवाज शरीफका भाइ शाहबाज शरीफ र एमएमए पार्टीका नेता मौलाना फजलुर रहमानसहितका नेता । तस्बिर : एएफपी

पाकिस्तानमा गएको बुधबार भएको आम चुनावको नतिजाले पूर्व क्रिकेटर इमरान खानको पार्टी पाकिस्तान तहरिक–ए–इन्साफ, पिटिआईलाई देशको सबैभन्दा ठूलो पार्टी बनाएको छ छ । इमरान अब देशको नेतृत्व सम्हाल्ने तयारीमा छन् ।

तर इमरानको विरोधमा रहेका राजनीतिक दलको एक समूहले चुनावको नतिजा स्वीकार्य नरहेको भन्दै नयाँ चुनावको माग गरेका छन् ।

उनीहरुले चुनावमा धाँधली भएको आरोप लगाएका छन् । इस्लामाबादमा भएको बैठकपछि दलहरुले चुनावको नतिजा स्वीकार्य नरहेको बताएका हुन् ।

यो बैठकमा पूर्व प्रधानमन्त्री नवाज शरीफको पार्टी पाकिस्तान मुस्लिम लिग–नवाज, पिएमएल–एनका प्रतिनिधि पनि सहभागी थिए । नयाँ तरिकाबाट स्वच्छ चुनाव हुनु पर्ने आफूहरुको माग रहेको बैठकमा सहभागी एक नेताले बताएका छन् ।

शरीफको पार्टी चुनावमा दोस्रो भएको छ । बैठकपछि नवाज शरीफका भाइ शाहबाज शरीफले आफूहरुको पार्टीले संसदको बहिष्कार गर्ने या नगर्ने बारे अहिले नै निर्णय नगरेको बताए । यसअघि पिएमएल–एनले प्रतिपक्षको रुपमा बस्न तयार रहेको बताएको थियो ।

एमएमए पार्टीका नेता मौलाना फजलुर रहमानले बैठकपछि भएको पत्रकार सम्मेलनमा भने, ‘हामी फेरि चुनाव गराउनका लागि अभियान चलाउने छौँ । यसका लागि प्रदर्शन पनि हुने छन् ।’

चुनावको नतिजापछि रणनीति तय गर्नका लागि एक दर्जन भन्दा धेरै पार्टीको संयुक्त बैठक बसेको हो । तेस्रो ठूलो पार्टी बनेको पाकिस्तान पिपुल्स पार्टी, पिपिपी यो बैठकमा सामेल थिएन ।

पाकिस्तानमा सरकार बनाउनका लागि १३७ सिटसहित बहुमत चाहिन्छ । इमरान खानको पार्टीले ११५ सिट जितेको छ र बहुमत जुटाउन असजिलो छ । अब इमरान खानले गठबन्ध सरकार बनाउनु पर्नेछ ।

२७२ सिट रहेको केन्द्रीय संसदमा पिएमएल–एनले ६४ तथा पिपिपीले ४३ सिट जितेको छ । पिपिपीको नेतृत्व दुईपटक प्रधानमन्त्री बेनजीर भुट्टोका छोरा बिलाबल भुट्टोको हातमा छ ।

साउन १२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्