चार करोड ठग्ने दुईजना जेल चलान

काठमाडौँ – नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले चार करोड १७ लाख ५८ हजार रुपैयाँ ठगेर फरार दुई अभियुक्तलाई पक्राउ गरी जेल चलान गरेको छ ।

ब्यूरोको टोलीले ताहचलमा रहेको साइनिङ स्टार सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका लेखा समिति सदस्य रोशनकुमार खड्गी र प्रकृति श्रेष्ठलाई बिहीबार पक्राउ गरी शुक्रबार केन्द्रीय कारागार जगन्नाथदेवल जेल चलान गरेको हो ।

ठगी गरेर फरार रहेको उनीहरुलाई काठमाडौँ जिल्ला अदालतको विसं २०७४ वैशाख १७ को फैसलाअनुसार एक वर्ष ६ महिना कैद र रु ४७ लाख ६२ हजार २२५ जरिवना सुनाएको थियो ।

को–अपरेटिभमा आकर्षक व्याज र उपहारको प्रलोभनमा पारी निक्षेपकर्ताबाट उक्त रकम हिनामिना गरी आफ्नो नाउँमा घर जग्गा खरिद गरी, निक्षेपकर्ताको साँवा व्याजसमेत फिर्ता नगरी ठगी गरेको ब्यूरोका प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिए ।

चालक लुट्ने तीन पक्राउ


महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठले धारिलो हतियार देखाई ट्याक्सी चालक लुटपाट गर्ने तीनजनालाई पक्राउ गरेको छ ।

प्रभागको टोलीले बिहीबार राति ११ बजे बा २ ज २७१३ र बा२ज ३६६९ नम्बरको टक्सीमा यात्रु बनेर धारिलो हतियार देखाई ठगी गर्ने नुवाकोटका १८ वर्षीय कविन परियार, टोखाका २३ वर्षीय राहुल शिल्पकार र झापाका २५ वर्षीय विराज ढकाललाई पक्राउ गरेको हो । जसमा परियार र शिल्पकारलाई बिहीबार बेलुका र ढकाललाई शुक्रबार पक्राउ गरेको हो ।

उनीहरुले दुवै ट्याक्सीको चालकलाई बुढानिलकण्ठ नगरपालिका वडा नं ७ हेपाली हाइट पुर्‍याएर चक्कु देखाई मोवाइल र नगद लुटपाट गरको अनुसन्धानमा खुलेको छ । प्रहरीले उनीहरुसँग नगद पाँच हजार ६००, ६ वटा मोवाइल, एउटा औँठी, तीनवटा धारिलो हतियार समेत बरामद गरेको छ ।

साउन १२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्