म्यानचेस्टर युनाइटेडमाथि लिभरपुलको शानदार जित

नयाँ सिजनको तयारीमा रहेका टिमबिचको मैत्रिपूर्ण प्रतिस्पर्धा अन्तर्राष्ट्रिय च्याम्पियन्स कप अन्तर्गत आइतबार बिहान भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडमाथि शानदार जित दर्ता गरेको छ।

अमेरिकाको मिसिगन, एन अर्बोरमा भएको खेलमा जर्गेन क्लोप्पको टिम लिभरपुलले जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेडलाई ४–१ ले हराएको हो ।

लिभरपुलको जितमा रुसमा भएको विश्वकपमा सुन्दर गोल गरेर चर्चामा आए र त्यो भन्दाबढी गोलको सेलिब्रेशनका कारण विवादमा तानिएका जेर्डान शाक्विरीले पनि गोल गरे । उनी केही हप्ताअघि मात्रै लिरभपुल आएका छन् ।

२८ औँ मिनेटमा पाएको पेनाल्टीमा साडिओ मानेले गोल गर्दै लिभरपुललाई सुरुवाति अग्रता दिलाए । तर त्यसको केही मिनेटपछि नै आन्द्रेयास परेराले फ्रि–किकमार्फत सुन्दर गोल गर्दै बराबरी गरे । दोस्रो हाफमा लिभरपुलले थप तीन गोल गर्‍यो ।

६६ औँ मिनेटमा ड्नियल स्टुरेज, ७४ औँ मिनेटमा शेयी ओजो र ८२ औँ मिनेटमा शाक्विरीले गोल गरेपछि लिभरपुल ४–१ ले विजयी भयो ।

मोरिन्होले यो खेलका लागि पाँचजना यस्ता खेलाडी मैदानमा उतारेका थिए, जसले गएको सिजन प्रिमियर लिग खेलेका छैनन् । तर लिभरपुलको टिममा भने मोहम्मद सालह र साडिओ माने जस्ता बलिया खेलाडी थिए ।

साउन १३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्