छोरीसँग नबोली मर्ने मन छैन

प्रिन्स ह्यारीसँग बिहे गरेपछि मेगन मर्केल बुवासँग बोल्न छोडिन्

जब मेगन मर्केलले आउँदो शनिबार आफ्नो ३७ औँ जन्मदिन मनाउने छिन्, त्यसमा कुनै दुविधा छैन कि उनले श्रीमान प्रिन्स ह्यारीबाट प्रेमले भरिएको उपहार पाउने छिन् ।

बेलायती राजपरिवारका अरु सदस्य अनि नागरिक तथा विश्वभरका शुभचिन्तकबाट उनले शुभकामना पनि पक्कै पाउने छिन् । मेगनलाई शुभकामना दिनेको सूचिमा महारानी एलिजाबेथ द्वितिय पनि पक्कै हुने छिन् ।

तर मेगन अहिले राजकुमारीको रुपमा रहेको लण्डनबाट ५ हजार ४९५ माइल पर मेक्सिकोमा उनका बुवाले टुटेको हृदय सम्माल्दै बस्नेछन् । थोमस मर्केलले छोरी मेगनले आफूलाई पूर्णरुपमा बेवास्ता गरेको दाबी गरेका छन् ।

बेलायती पत्रिका डेली मेलसँग तीन दिनको प्रयासमा ९ घण्टा कुराकानी गरेका थोमसले आफूलाई छोरी मेगनले आफ्नो जिन्दगीमा पूर्ण रुपले बन्देज गरेको बताएका हुन् ।

आइतबार थोमसले डेली मेलसँग आफूले नातीनातिना हेर्न नपाउने डर व्यक्त गरे । उनले भनेका छन्, ‘सायद मेगन र प्रिन्स ह्यारीका सन्तान (मेरा नातीनातिना) मैले हेर्न पाउने छैन ।’

हलिउडका अवार्ड विनिङ्ग लाइटिङ्ग डाइरेक्टर थोसमले आफ्नी प्यारी बिन (मेगनको बाल्यकालको निक नेम) सँग बोल्न नपाएको १० हप्ता भन्दा धेरै भएको बताएका छन् ।

प्रिन्स ह्यारीसँगको बिहेमा थोमस उपस्थित भएका थिएनन् । उनको मुटुमा समस्या भएको भनिएको थियो । तर पापाराजीले थोमसको अरु नै तस्बिर सार्वजनिक गरेका थिए । उनको मुटुमा समस्या नरहेको दाबी पनि गरिएको थियो । त्यसले गर्दा मेगन रिसाएको ठानिएको छ ।

मेगनले आफूलाई स्पष्ट पार्ने मौका नै नदिएको थोमसको भनाई छ । मेगनले आफूसँगको सम्पर्क पूर्ण रुपले बन्द गरेको थोमसको भनाई छ । उनले भने, ‘मेगनले मसँगको सम्बन्ध पूर्ण रुपले बन्द गरिन्, यसले निकै दुःखी भएको छु ।’

आफूले राजदरबारमा रहेका मेगनका व्यक्तिगत सहयोगीको नम्बरमा फोन तथा म्यासेज गर्ने गरेको तर मेगनलाई राजपरिवारले परिवर्तन गरेको भन्दै आफूले केही कुरा भनेपछि आफूलाई उनीहरुले सम्पर्क बाहिर राखेको थोमसको भनाई छ ।

उनले भने, ‘मैले फोन तथा म्यासेज गर्ने गरेका फोन नम्बरहरुमा अहिले सम्पर्क हुँदैन, काम गर्न छोडे । छोरीसँग सम्पर्क गर्ने कुनै माध्यम नै बाँकी रहेन ।’

७४ वर्षका थोमसले भने, ‘अगस्ट ४ मा मेगनको जन्मदिन हो, म उसलाई कार्ड पठाउन चाहन्छु । तर मैले उ बस्दै आएको केनसिङ्टन प्यालेस वा उ बस्ने अरु कुनै ठाउँको ठेगानामा कार्ड पठाएँ भने विश्वभरबाट आउने हजारौँ मध्ये एक मात्रै हुनेछ । साउद उसले कहिले हेर्ने पनि छैन ।’

प्रिन्स ह्यारीसँग मेगनको गएको मे १९ मा विवाह भएको थियो । त्यो बिहेमा मेगनको परिवारबाट आमा मात्रै उपस्थित थिइन् । मेगनका बुवा थोमसले आफू जिउँदो रहनु भन्दा मरेको भए आफू र मेगन दुवैलाई सजिलो हुने थियो कि भन्दै आफ्नो निराशा व्यक्त गरेका छन् ।

उनले भनेका छन्, ‘हाम्रो परिवारका कुनै पनि पुरुष ८० वर्षभन्दा धेरै बाँचेका छैनन्, त्यसले गर्दा मेरो जीवन आश्चर्य हुनेछ यदी अझै १० वर्ष बाँचे भने । तर म त भोलि नै मर्न चाहन्छु ।’

थोमसले अघि भने, ‘मृत्यु त्यस्तो खराब हुँदैन । मृत्युका बारेमा मलाई बुद्धिस्ट दर्शनले प्रभावित गरेको छ । सायद मेरो मृत्यु मेगनका लागि सजिलो हुन्छ होला । सबैले उसलाई सहानुभुति देखाउने छन् । तर मलाई छोरीसँग फेरि सम्पर्क हुनेछ भन्ने आश छ । मेगनसँग फेरि पनि नबोली मलाई मर्न मन छैन ।’

साउन १३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्