'संघीयता सफल पार्नु नै मधेसको प्रमुख मुद्दा'

ओलीको सरकार विधिको शासन पद्धतिमा चलेको छैन- राजकिशोर यादव

राजकिशाेर यादव।

जनकपुरधाम- राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले बहुमत प्राप्त ओली नेतृत्वको सरकार विधिको शासन पद्धतिमा नचलेको आरोप लगाएका छन्।

आइतबार जनकपुरधाममा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै यादवले भने, ‘ प्रचण्ड बहुमत प्राप्त ओली नेतृत्वको सरकारलाई संविधान संशोधनको प्रतिबद्धता अनुसार राजपाले समर्थन गर्‍यो। तर अहिले त्‍यो प्रतिबद्धता अनुरुप सरकार त्‍यो ‘स्पिरिट’ बाहिर गएको छ।’

उनले राजपा नेपाल सरकारमा जाने वा नजाने भन्दा पनि संघियतालाई सफलता दिनु प्रमुख मुद्दा रहेको बताए। यादवले भने, ‘यहाँ संघीयता असफल भयो, भने मधेश आन्दोलनको मूल मर्म समाप्त हुन्छ, त्यसैले संघीयतालाई सफल कार्यान्वयनको पक्षमा हामी उभिएका छौं।’

उनले संविधानको मुख्य तीन आत्मालाई समर्थन गर्दै सरकारलाई समावेशी, संघीयता र लोकतान्त्रिक पद्धतिको मुल्य मान्यतालाई संस्थागत गर्नु पर्नेमा जोड दिए।

यता, पत्रकारको एक जिज्ञासामा अध्यक्ष यादवले भने, ‘यो मुलुकमा विविधतायुक्त भाषाभाषि, जातजाति, धर्म संस्कृतिको एउटा संगम हो, अझ मधेशको राष्ट्रियतालाई स्थापित गर्ने काम भएपनि देश विखण्डनको आरोप संकुचित मानसिकता भएका व्यक्तिहरुले लगाउने गरेको छ।’

प्रदेश २ सरकारको कामकाजमा असन्तुष्टि

यता, प्रदेश २ को सरकारको कामकाज बारे असन्तुष्टि जनाउदै अध्यक्ष यादवले संघीयताको नयाँ अभ्यास रहेको तथा प्रदेश सरकार स्वायत नभएकोले समस्या उत्पन्‍न भएको उल्लेद गरेका छन्। उनले आफूहरुले स्वायत शासन सहितको संघीयताको लागि मधेशी जनताले लडेको र त्यसलाई पुरा हुन अझै समय लाग्ने बताए।

संघीय सरकारको तर्फबाट अगामी आश्विनभित्र प्रदेश कानून आएपछि कामकारवाहीको आधारमा प्रदेश सरकारको मुल्याङ्कण गरिने र तत्काल प्रदेश सरकारको कामकारवाहीको लागि तीन सदस्यीय टोली पठाउन लागिएको जनाएका छन्।

प्रदेशसभामा गएर प्रधानमन्त्री ओली गएर भाषण दिनु कुनै संविधानमा उल्लेख नभएको बताउँदै सम्बोधन गर्नै परे विशेष परिस्थितिमा गर्न सक्ने भएपनि मनोमानी गरिरहेको आरोप उनको थियो।

साउन १३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्