सम्पादकहरु कसैको पक्ष वा विपक्षमा उभिनु गलत: सञ्चार मन्त्री

पोखरा – सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले सम्पादकहरुले कुनै पनि सरकारको पक्ष वा बिपक्षमा संगठित रुपमा बक्तब्य जारी गर्नु सम्पादकीय स्वतन्त्रता नभएको बताएका छन्।

पेशागत पत्रकारिताको कुरा चलिरहेका बेला कसैको पक्ष वा बिपक्षमा उभिनु पत्रकारिताको धर्म नभएको भन्दै मन्त्री बास्कोटाले मिडिया आरोपकर्ता नभै आलोचक हुनुपर्ने तर्क दिए।

नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति राष्ट्रिय पत्रकारिता सम्मान २०७४ सम्मान कार्यक्रममा मन्त्रीले यस्तो बताएका हुन्। नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झालाई सम्मान गर्दै उनले पत्रकार समाजको ऐना मात्रै नभएर सही र गलत छुट्टाउन सक्ने हुनुपर्नेमा जोड दिए। आफैँले भ्रम सिर्जना गर्ने तर्फ पत्रकार लाग्न नहुने उनको भनाइ थियो।

मन्त्री बास्कोटाले लोकतन्त्र प्राप्तिमा जसरी सबैदल एकजुट भएर उपलब्धि हासिल भयो त्यसैगरी विकास र समृद्धिकालागि पनि एकजुट हुनु पर्ने विचार राखे।

उनले साना लगानीका सञ्चारमाध्यमको विज्ञापनको खास कानून निर्माणलगायत काम अघि बढेको बताए। डिजिटल सञ्चारमाध्यमको वर्गीकरणका साथै सामुदायिक र व्यावसायिक रेडियोको वर्गीकरण, मिडिया काउन्सिलको स्थापनालगायत काम पनि हुँदै गरेको उनको भनाइ थियो।


पत्रकारिताको खास मानक हुने बताउँदै मन्त्री बाँस्कोटाले सामाजिक सञ्जालका नाममा जथाभावी आउने कुरालाई सरकारले नियमन गर्ने उल्लेख गरे ।

‘वर्तमान सरकार मदन भण्डारीले दीक्षित गरेको सरकार हो, यो लोकतन्त्र र बहुदलीयताका लागि प्रतिबद्ध छ ’ उनले भने ।

सो अवसरमा नेपाल पत्रकार महासंघ कास्की शाखाद्धारा संचाालित दयाशंकर पालिखे राष्ट्रिय पत्रकारिता पुस्कारबाट महासंघका पूर्व केन्द्रीय अध्यक्ष झालाई ३३ हजार ३ सय ३३, सम्मानपत्र र दोसल्लासहित सम्मान गरिएको छ ।

साउन १३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्