विपन्नको औषधि उपचार भगवान भरोसा

‘श्रीमानको उपचार गर्दा सम्पत्ति सकियो, अब छोरालाई कसरी बचाउँ ?’

जीन सम्बन्धी रोगले सताइएका विशेष बेल्वासे आमासँग । यो रोगको उपचार नेपालमा सम्भव नभएकाले भारतमा लैजानु पर्ने तर रकम अभाव भएको आमा बिमलाको भनाई छ । तस्बिरः दशरथ घिमिरे/देश सञ्चार

दाङ – अनेकौँ समस्याका वावजुत पनि उज्यालो भविष्यको खोजी सबैलाई हुन्छ । यहि उज्यालो भविष्यको खोजीमा जीवनमा ठूलै संघर्ष गर्नुपरेको छ, बिमला बेल्वासेलाई ।

श्रीमान खिमप्रसादको दुवै मृगौलामा समस्या आयो । पाँच वर्षसम्म डाईलासिस गर्नुपर्‍यो । भेन्टीलेटरमा पनि राख्नु पर्‍यो । श्रीमानको उपचारमा भएको सबै सम्पत्ति सकियो । अहिले उनका श्रीमान उपचारको लागि भारतको दिल्ली गएका छन् ।

यिनै बिमलालाई अर्काे समस्याले घेर्‍यो । श्रीमानको उपचार हुदै गर्दा छोरा विशेषलाई अनौंठो रोगले सतायो । सुरुमा अनुहारमा कालो कोठि जस्तै फोका उठ्यो । बिस्तारै आकार बढ्दै गयो । अनुहार पुरै छोपिन थाल्यो । नाक, गाला वरिपरी मासु पलाउन थाल्यो । झन पछि झन समस्या बढ्दै गयो । उपचारका लागि काठमाडाैँमा नाम चलेका अस्पताल पुर्‍याइयो ।

विशेषलाई जीन समस्याले यस्तो भएको डाक्टरहरुले पत्ता लगाए । यसको उपचार नेपालमा सम्भव छैन् । भारतको अस्पतालमा उपचार गर्दा कम्तिमा ५०/६० लाख भारु रुपैयाँ लाग्ने चिकित्सकहरुले बताएपछि बिमलाको होस हवास उडेको छ ।

‘श्रीमानको उपचारमा भए भरको सबै सम्पत्ति सकियो । छोराको उपचार कसरी गर्ने ? बिमलाले भनिन्–‘आमा बुवाको मन छोरा छोरी माथि हुन्छ । कलिलै उमेरमा ठूलै रोगले समात्यो । उपचार गरेर नयाँ जीवन दिन सकिन्छ । सबैसँग अनुरोध गर्छु, हामीलाई सहयोगको खाँचो छ ।’ अर्घाखाँचि भूमिकास्थान–१ घर भएकी बिमला लमही–६ देउपुर माइत आएकी छिन् ।

जीनमा समस्या देखिनु लाखौँ व्यक्ति मध्ये एक/दुई जनामा यस्तो समस्या देखिन्छ । छोराको जीवन रक्षाको लागि सहयोग माग्न बिमला माईत आएकी हुन् ।

‘भएको जमिन र गरगहना बेचेर श्रीमानको उपचार गरे, छोरा बचाउन के गरौँ, अब त बेचौ भनेपनि केही छैन, भक्कानिँदै उनले भनिन् ‘छोरोलाई बचाउन मन छ तर उपचार खर्च कहाँबाट ल्याउने ?

विशेषमा ट्यूमरको समस्या पनि थियो । ट्यूमरको सल्यक्रिया गरियो । तर, अनुहारमा मासु पलाउने समस्या नरोकिएपछि जिन फेरेर थेरापी गरेपछि रोग निको हुने चिकित्सकले बताएका छन् ।

आफन्तहरुले विशेष बचाउ अभियान पनि चलाएका छन् । छोराको जीवन बचाउन अपिल गर्दै कृषि विकास बैंकमा ०२१२१०१२३४०२९०११ नम्बरको खाता समेत खोलिएको छ । लमहीका युवा व्यवसायि कृष्ण घिमिरेले विशेष बचाउ अभियानलाई सहयोग गर्न अनुरोध गरे ।

साउन १४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्