के यही हो, लोकतान्त्रिक र सभ्य समाज?

कांग्रेसले राष्ट्रपति (गिरिजाप्रसाद कोइराला) पाउने लालसादेखि संघीयता र धर्मनिरपेक्षतामा जसरी माओवादीबाट वा ऊमार्फत उपयोग कांग्रेस भयो र गरियोे, त्यसको प्रतिफल कांग्रेसले संविधान जारी पश्चात वर्तमानमा नराम्ररी खेपी र भोगिरहेको छ। गत निर्वाचनमा कांग्रेसले पाएको मतको गिरावट, एमाले वा त्यसको नेतृत्व र वर्तमानका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले गरेको नाकाबन्दीको पृष्ठभूमिमा लिएको राष्ट्रियताको अडान मात्र थिएन। यो एउटा गौण कारण मात्र हो। जबकी उसले आफ्नो नितान्त सिद्धान्त, धारणा र व्यवहारबाट च्यूत भएर माओवादीको राजनीतिक एजेण्डाको भरिया बन्ने काम गर्‍यो, विगतमा यो अबस्थामा आउनु र देशको समग्र राजनीतिलाई पनि यो वर्तमानको अराजक अवस्थामा पुर्‍याउनुमा मुख्य कारक तत्व हो।

आज सँगै क्रान्तिकारी परिवर्तन (गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता)को सारथी बनेको पार्टी माओवादी र त्यसका नेतृत्व (नेकपा) ‘प्रचण्ड’ बाटै प्रचण्ड रुपमा डोमिनेन्ट हुनु पर्ने वा हप्की खानु नै पर्ने अवस्थामा कांग्रेस पुगेको छ। जुन विडम्वना नै हो ऊसका लागि। ऊनले हप्काएकै शैली र मनोभावमा भनेका छन् गत सोमबारको एक सार्वजनिक कार्यक्रममा– ‘नेपाली कांग्रेस खोजेको चाहिँ के हो? नेपाली कांग्रेस संघीय लोेकतान्त्रिक गणतन्त्र डाक्टर केसीको पुच्छर समातेर हरण गर्न खोजेको हो? नेपाली कांग्रेस आफ्नो राजनीति गोविन्द केसी मार्फत गर्न पर्ने ठाउँमा पुगिसकेको हो ? कांग्रस यति निम्छरो, यति कमजोर, एजेण्डा विहीन र अलोकतान्त्रिक भइसकेको हो?’ कम्तीमा पुष्पकमल दाहालले कांग्रेसजनहरुका निम्ति यति कुरा सत्य त बोलेकै हुन्। तर आम नेपाली जनकालागि भने यो कदाजित सत्य हुन सक्दैन।

कम्तीमा यति इमानदारी ऊनले कांग्रेसजनप्रति देखाए! अब कांग्रेसको पालो आउनु पर्छ पर्ने हो! ऊहिलेको नेकपा माओवादी र अहिलेको नेकपाको तिम्रो नेतृत्वले विगतमा हामी र हाम्रो, विगतको र अहिलेको नेतृत्वमाझ अँध्यारा कोठामा यी यी कुरा र विषयहरूमाझ राष्ट्र/राष्ट्रिय र राष्ट्रिय अखण्डतालाई नजरअन्दाज गर्दै निहित स्वार्थका खातिर भए गरेका थिए। कम्तीमा माओवादीजनका लागि ढिलै भए पनि ऊसले बोल्नु पर्छ। तब मात्र कांग्रेसजन, समर्थक र कार्यकर्तामा बल र उर्जा थप्ला र सञ्चार गर्ला। जुन कुराको आस अब कांग्रेसबाट आशा गर्नु व्यर्थ हुने छ!

अन्यथा वाकपटु, भाषणबाज विश्वप्रकाश शर्मा जस्ता व्यक्तित्व वा व्यक्तिहरूले तर्कका लागि तर्क त गछन् र गर्लान् नै ‘प्रचण्ड’का प्रचण्ड अभिव्यक्ति माथि तर त्यो केवल केको न्यानो भनेझैं मात्र हुने छ। प्रचण्ड अभिव्यक्तिमाथि प्रहार गर्न सक्ने नैतिक, भौतिक शक्ति र साहस सिद्धान्तह: र व्यवहारतह कांग्रेसमा तत्कालका लागि देखिन्न। सत्य यही हो। किन चाउरिस् मरिच आफ्नै पिरले।

आफ्नो विगतको विरासत, विपीले देखाएको पदचापका साथै कांग्रेस आफ्नो सैद्धान्तिक र वैचारिक विचलनको बाटोमा गएको असन्तुष्टि प्रकट गर्दै कृष्णप्रसाद भट्टराईको पार्टी परित्यागलाई हल्का वा रमिते ढंगले लिनुनै उसका लागि दुर्भाग्य थियो। अन्यथा कांग्रेसले वर्तमानको यो सम्मको दुर्गति व्यहोर्नु पर्ने थिएन। नेपालको राजनीतिमा लामो इतिहास बोकेको, त्याग गरेको, वाह्रवुँदे दिल्ली सम्झौता र त्यस यता वर्तमानको विद्यमान संविधान जारी सम्म नेतृत्वदायी भूमिकामा रहेको पार्टी, नेता र कार्यकर्तामाझ यस्तो कमजोरपना देखिनुका साथै देशमा अराजक स्थिति किन पैदा भैरहेको छ भन्ने विषयको धरातलमा अडेर स्मृति गर्दै विगत र वर्तमानको समीक्षा र विवेचना गरी भावी दिनको बाटो पहिल्याउनु पर्ने कांग्रेस वर्तमान तत्कालको पहिलो प्राथमिकता र आवश्यकता हुनु पर्ने हो वा पर्छ।

१२ बुँदे दिल्ली सम्झौता पश्चात सरकार, सदन र सडकमा रहेका दल र त्यसका नेतृत्वहरुको स्वयंम् काम गराइको तौर तरिका र व्यवहारबाट विगतमा नब्बे प्रतिसत भन्दा बढीको कर्तल ध्वनिका साथ पास भएको वर्तमानको संविधान र दुईतिहाई बहुमत प्राप्त नेकपा सरकार यी दबै प्राविधिक रुपमा मात्र उभिएका जस्ता देखिन्छन् र हुन् भन्दा अन्यथा नहोला। यो संविधान कार्यन्वयन र सरकार सञ्चालन गर्ने कुरामा कम्तीमा यसका कर्ताहरू (नेकपा, प्रतिपक्ष का‌ंग्रेस र फोरम) जिम्मेवार, उत्तरदायी र जवाफदेही हुनु/बन्नु पर्ने न्यूनतम सर्तहरु हुनु पर्ने हो र हुन्। जुन कुरामा वर्तमानका सत्ता पक्ष र विपक्ष दुबै गैर जिम्मेवार अनुत्तरदायीका साथै जवाफदेही विहिन देखिएका छन्। साथै प्रतिपक्ष कांग्रेस त रक्षात्मक देखिन्छ नै, दुई तिहाइको सरकार पक्ष पनि रक्षात्मक वा कमजोर देखिन्छ।

राजनीतिमा सायद दुनियाँमा यो विरलै देखिने घटना होला! हार्ववेयरको हिसावले हेर्दा यो सरकार निकै मजबुत देखिए पनि सप्टवेयरको हिसाबले यो आफैँमा भित्रभित्रै इन्स्टलेसन र सेटअफ को समयमा नै भाइरस सँगै लिएर आएको अवस्थामा जस्तो छ । यो दुःखद पक्ष हो सरकार र प्रतिपक्ष दुबैका लागि। यस्तो दुईतिहाइको सरकार र प्रतिपक्ष दुबै कमजोर भएकोका अवस्थामा वैदेशिक हस्तक्षेप आक्रामक रुपमा निम्तने खतरा सँगै तानाशाह र तानाशाही शासन जन्मने पनि प्रवल सम्भावना रहन्छ। यस्तो भैहालेको खण्डमा यसका मतियार वर्तमान सत्ता पक्ष र प्रतिपक्षहरु नै हुने छन्। यसबेला आम नागरिक र नागरिक समाजका साथै मिडियाहरू सचेत हुनु पर्ने समय हो तर मिडियाका सम्पादकहरू नै हुल बाँदेर कसैको पक्ष र विपक्षमा एक्टिभिजम गर्न उद्यत् रहन्छन् भने आम निमुखा नेपाली जनताले अब कसको आस र भरोसा गर्ने ? अहिले देशमा अहम प्रश्न चिन्न खडा भएको छ। देश त पशुपति नाथले नै चलाएका हुन् र चलाउने छन् भन्ने स्थितिको निर्माण वर्तमान डा.केसी सत्याग्रहको बेला पनि देखियो!

हार्ववेयरको हिसावले हेर्दा यो सरकार निकै मजबुत देखिए पनि सप्टवेयरको हिसाबले यो आफैँमा भित्रभित्रै इन्स्टलेसन र सेटअफ को समयमा नै भाइरस सँगै लिएर आएको अवस्थामा जस्तो छ ।

डा. केसीले उठाएका विषयहरू जुन सुकैवाद अंगाल्ने पार्टीहरूको सरकार बने पनि वा यी नै पार्टी र त्यसका नेताहरूले बनाएको वर्तमानको संविधानको धरातलमा उभिने होे भने जुन सुकै सरकारले संवोधन गर्नु पर्ने अनिवार्य मुद्धाहरू (शिक्षा र स्वास्थ्य) हुन्। आजको २१औं शताब्दीको विश्वमा लोककल्याणकारी राज्यव्यवस्थाको वकालत भैरहकोे अवस्थामा यस विषयलाई यहाँ तिलकोे पहाड बनाउनु पर्ने कुनै कारण र आवश्यकता नै छैन। तर बनाइन्छ किन?

पर्दामा डा. केसीलाई देखाएर पृष्ठभूमिमा आफ्ना निहित स्वार्थका रोटी सेक्नेहरूले नै समस्या जटिल बनाउँदै लगिरहेका थिए, छन् र लिने छन् भोलिका दिनमा पनि। आज सरकार पक्ष र डा. केसी बीच सम्झौता हुनु र केसीको जीवन रक्षा हुनु सुखद पक्ष हो। तर भोलि पनि उनीसँग भएका सम्झौता कार्यन्वयनमा फेरि चलखेल गर्दै ऊनलाई घचेटेर सत्ता पक्षबाट होस् वा प्रतिपक्षबाट आफ्ना विगत र बर्तमानमा गरेका राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक काला कर्तुतहरू जगाउन र छोप्न दृष्टता नगर्लान् भन्न सक्ने वस्तुगत आधारहरु अझै हाम्रो राजनीतिक परिदृश्यमा विश्वासै गरिहाल्नु पर्ने अवस्था देखिँदैन। यो निकै उदेक, घीन र टीठलाग्दो दृश्य हो। तर सत्यको आग्रह ढिलै भए पनि जुनसुकै सत्ताले आत्मसात गर्नु नै पर्ने हुन्छ भन्ने नजिर डा.केसीको अनसनले आशा जगाएको छ।

हाम्रा सत्ता पक्षका नेताहरुको बुझाइ रहेको छ – केसीको अनसन बस्न काम हो उनी बस्छन् जुन नेपाली समाजले पचाइसक्यो। यति मात्र हैन महोदय! नेपाली समाजले हत्या र हिंसाको राजनीतिकरण र राजनीतिको हत्या र हिंसाकरण पनि पचाइसक्यो। भ्रष्टाचार त झन् आम नेपाली समाजमा सामाजिक संस्कारको रुपमा स्थापित भैरहेको र ती नै भ्रष्ट व्यक्तिहरु नै प्रतिष्ठित र सम्मानित हुँदै गैरहेका छन् राजनीतिमा होस् वा समाजका अन्य स्थानमा। कोे के हो र को के गर्दैछन् भन्ने विषयमा नै दुविधा उत्पन्न भैरहेको छ समाजमा। उग्र बोली, वचन, भाषण, समाचार, क्षुद्र अभिव्यक्ति पनि पचाइसक्यो। जुन कुरा न त राजनीतिले सफा गर्‍यो न त नेपाली समाजले। विडम्वना यहीँनिर छ। के यही हो नेपालीले खोजेको आधुनिक लोकतान्त्रिक सभ्य समाज? सभ्य नागरिक? के हामीले हाम्रा नेताबाट यही हो आशा र विश्वास गरेको? के यही हो हामीले खोजेको हाम्रो समाजलाई सकारात्मक संवाहकका रुपमा सामाजीकरण र साँस्कृतिकरण गर्ने अहम् भूमिका र जिम्मेवार लिएका पार्टी, नेता त्यसका भातृसंगठन र संगठकहरूको जिम्मेवारी र दायित्व ? के हाम्रा नेता र राजनेता भन्नेहरूको सपना यही थियो र हो? प्रश्नहरू आज अनुत्तरित नै छन्।

साउन १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्