ट्रम्प इरानका राष्ट्रपति रुहानीलाई भेट्न तयार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू कुनै पनि बेला इरानका नेतासँग भेट्न तयार रहेको बताएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले कुनै पनि पूर्व शर्त वा अवस्था बिना तथा इरानले चाहेको बेलामा आफू भेटवार्ताका लागि तयार रहेको बताएका हुन् ।

ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, ‘भेटवार्तामा विश्वास गर्ने मान्छे हुँ, म जोसँग पनि भेट्न रुचाउँछु ।’

जुलाईको सुरुमा अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायलका राष्ट्रपति हसन रुहानीले एकअर्कालाई लक्षित गरी गम्भीर खालका चेतावनी तथा चुनौती दिएका थिए । तर अहिले आएर ट्रम्पले आफू रुहानीसँग भेटवार्ताका लागि तयार रहेको बताएका छन् ।

पूर्व राष्ट्रपति बाराक ओबामाको कार्यकालमा इरानसँग भएको परमाणु सम्झौताबाट अमेरिका गएको मे मा बाहिरिएको थियो । इरानको परमाणु कार्यक्रम नियन्त्रण गरी शान्ती स्थापित गर्ने प्रयासको रुपमा रहेको सम्झौताबाट ट्रम्पले अमेरिकालाई अलग्याएका हुन् । यो सम्झौता अनुसार इरानले परमाणु कार्यक्रम बन्द गर्दै जाने तथा अमेरिकाले प्रतिबन्ध हटाउँदै जाने तय भएको थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले केही दिनभित्रै इरानमाथि फेरि प्रतिबन्ध लगाउने तयारी गरेका छन् । ट्रम्प प्रशासनको यस्तो तयारीको बेलायत, फ्रान्स, चीन, रुस तथा जर्मनीले विरोध गर्दै आएका छन् । सन् २०१५ को परमाणु सम्झौतामा अमेरिका तथा इरानसँगै यी देशले पनि हस्ताक्षर गरेका थिए ।

इरानले सम्झौता अनुसार परमाणु कार्यक्रम बन्द नगरेको तथा उसको गतिविधि मध्य पूर्वको स्थायित्वका लागि खतरापूर्ण रहेको अमेरिकाले आरोप लगाउँदै आएको छ । यही विवादका बिच ट्रम्पले वार्ताका लागि तयार रहेको संकेत गरेका हुन् । उनले भनेका छन्, ‘यदी उनीहरु भेटवार्ताका लागि तयार छन् वा चाहन्छन् भने हामी तत्काल तयार हुन्छौँ ।’

इरानी राष्ट्रपति रुहानीका सल्लाहकार हामिद एबोउतालेबी राष्ट्रपति ट्रम्पको भनाईको जवाफमा अमेरिका परमाणु सम्झौतामा फर्किने पर्ने तथा इरानको अधिकारको सम्मान गर्नु पर्ने बताएका छन् ।

साउन १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्