ट्रम्प–किम सम्बन्धमा खतरा

नयाँ ब्यालेस्टिक मिसाइल बनाउँदै उत्तर कोरिया

उत्तर कोरियाले नयाँ ब्यालेस्टिक मिसाइल बनाउँदै गरेको खबर आएको छ । अमेरिकासँग पछिल्लो समय विकास हुँदै गरेको न्यानो सम्बन्धका बाबजुद उत्तर कोरियाले नयाँ ब्यालेस्टिक मिसाइल बनाइरहेको अमेरिकी पत्रिकार वासिङ्गटन पोस्टले दाबी गरेको छ ।

गएको जुनमा सिंगापुरमा भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबिचको ऐतिहासिक वार्तापछि दुई देशबिचको सम्बन्ध सुधार हुँदै गएको देखिएको छ ।

दुई नेताबिच उत्तर कोरियाको परमाणु निशस्त्रिकरण सम्बन्धमा सहमति बनेको थियो । केही समयअघि मात्रै उत्तर कोरियाले परमाणु निशस्त्रिकरणको प्रक्रिया सुरु गरेको र त्यसक्रममा मिसाइल परीक्षण क्षेत्र नष्ट गरेको खबर आएको थियो ।

तर अहिले आएर उत्तर कोरियाले नयाँ ब्यालेस्टिक मिसाइल बनाइरहेको दाबी गरिएको छ । स्याटेलाइटबाट लिइएको तस्बिरमा उत्तर कोरियाको परमाणु परीक्षण क्षेत्रमा ब्यालेस्टिक मिसाइल बनाइरहेको देखिएको नाम नखुलाइएका अमेरिकी अधिकारीलाई उद्धृत गर्दै वासिङ्गटन पोस्टले खबर छापेको छ ।

ब्यालेस्टिक मिसाइल निर्माणको काम कुन चरणमा पुगेको छ भन्ने नखुलेको एक अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

सोमबार वासिङ्टन पोस्टले एक अधिकारीलाई उद्धृत गर्दै उत्तर कोरियाले एक वा दुईवटा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल बनाइरहेको खबर छापेको छ ।

उत्तर कोरियाले राजधानी प्योङ्गयाङ नजिकै रहेको सानुमडोङ्ग क्षेत्रमा मिसाइल बनाइरहेको खबरमा दाबी गरिएको छ । अमेरिकासम्म मार हान्न सक्ने गरी यसअघि पहिलो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल बनाएको कम्पनीले अहिले पनि मिसाइल बनाइरहेको उल्लेख छ ।

समाचार संस्था रोयटर्सका अनुसार मिसाइल निर्माण भइरहेको क्षेत्रमा सवारी साधन आउने–जाने गरेको देखिएको उल्लेख गरेको छ ।

उत्तर कोरियाले सिंगापुर वार्तापछि पनि परमाणु हतियार सम्बन्धी कामलाई निरन्तरता दिएको भन्ने खबर यो पहिलो भने होइन । तर यस्ता खबरले सिंगापुर वार्ताको प्रभाव वास्तवमा परेको भन्ने शंका उत्पन्न गरेका छन् ।

जुनको अन्त्यतिर अमेरिकी गुप्तचर निकायको चुहावत भएको जानकारी अनुसार उत्तर कोरियाले अझै पनि आफ्नो परमाणु क्षमतालाई बढाइरहेको उल्लेख गरिएको थियो ।

गएको हप्ता अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले सिनेटरलाई उत्तर कोरियाले ‘फिसाइल मटेरियल’ बनाइरहेको जानकारी दिएका थिए । फिसाइल परमाणु हतियार बनाउनका लागि प्रयोग गरिन्छ ।

उत्तर कोरियाले गएको अप्रिलमा आफूले परमाणु तथा मिसाइल परीक्षण रोक्ने बताएको थियो ।

पछिल्लो पटक उत्तर कोरियाले गएको नोभेम्बर २९ मा नयाँ प्रकारको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो । त्यो मिसाइल मेरिकाको मुख्य क्षेत्रसम्म पुग्न सक्ने उत्तर कोरियाले दाबी गरेको थियो ।

यस्तै सन् २०१७ को सेप्टेम्बर १५ मा ब्यालेस्टिक मिसाइल, अगस्ट २९ मा परमाणु हतियार बोक्न सक्ने ब्यालेस्टिक मिसाइल, सन् २०१७ कै जुलाई ४ मा अन्तर महादेशीय ब्यालेस्टिक मिसाइल तथा सन् २०१७ को फेब्रअरी १२ मा मध्यम दूरीको ब्यालेस्टिक मिसाइल उत्तर कोरियाले परीक्षण गरेको थियो ।

साउन १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्