रोनाल्डो युभेन्टसको ट्रेनिङ्गमा, साथी खेलाडीसँगको पहिलो भेट

स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले आफ्नो नयाँ क्लब युभेन्टसका साथी खेलाडीसँग भेटघाट गरेका छन् । केही हप्ताअघि स्पेनिस क्लब रियल मड्रिडबाट इटालियन च्याम्पियन युभेन्टस गएका रोनाल्डोल प्रि–सिजन ट्रेनिङ्ग सुरु गरेका छन् ।

युभेन्टसले रोनाल्डोलाई ११२ मिलियन युरोमा भित्र्याएको हो । ३३ वर्षका रोनाल्डो सोमबार पहिलो पटक युभेन्टसको प्रशिक्षण ग्राउण्डमा पुगेका हुन् । सिरी ए को नयाँ सिजनको तयारीमा रहेका रोनाल्डोको आवश्यक परीक्षण पनि भएका छन् ।

अक्सिजन माक्समा देखिएका रोनाल्डोलाई युभेन्टसको मेडिकल टिमले परीक्षण गरिरहेको देखिएको छ । प्रशिक्षण ग्राउण्डमा रोनाल्डोसँगै विश्वकप फुटबलमा सहभागी भएका खेलाडीहरु पनि थिए ।

रोनाल्डोलाई अर्जेन्टिनाका पाउलो डिबाला र गोन्जालो हेगुइनले स्वागत गरे । यस्तै ब्राजिलका डुग्लस कोस्टा पनि रोनाल्डोको साथमा देखिएका थिए ।

रोनाल्डोले युभेन्टसको प्रि–सिजन टुरका खेलमा नखेल्ने सम्भावना बढी छ । यसको अर्थ उनी रियल मड्रिड र एमएलएस अल–स्टारसँगको खेलमा हुनेछैन् । अगस्ट १९ मा युभेन्टस र चिएभोबिच हुने सिरी ए को उद्घाटन खेलमा रोनाल्डो मैदानमा हुनेछन् ।

रोनाल्डोको आगमन युभेन्टसबाट हेगुइनको बिदाईको रुपमा हेरिएको छ । हेगुइनलाई चेल्सीले भित्र्याउने तयारी गरेको छ । रोनाल्डोले युभेन्टसबाट पहिलो खेल सिरी ए खेल्ने सम्भावना छ ।

साउन १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्