सबैको मनको बह बुझ्ने ‘रमा दिदी’

रमा कार्की। सबै तस्बिरहरु: सुलभ श्रेष्ठ

काठमाडौँ–  काठमाडौँको नारायणटार जोरपाटीकाे एसओएस बालग्राम, शारीरिक र मानसिक रुपमा फरक क्षमता भएका बालबालिकाको आफ्नै घर। यो घर सधैँको लागि भने होइन। यहाँ उनीहरु आउँछन्, केही सिक्छन्, आफूलाई सक्षम बनाउँछन्। अनि आफ्नो संसार बसाउन बिदा हुन्छन्।

जोरपाटीको यो बालग्राम सन् १९७९ मा बनेको हो। बालग्रामको परिसर छिर्ने बित्तिकै बालबालिकाको आवाज सुनिन्छ। कोही पढ्दै गरेको, कोही खेल्दै गरेको। उनीहरुलाई सजिलो बनाउन त्यहाँ धेरै आमा र अान्टीहरु छन्। अनि ती आमा र आन्टीलाई सजिलो बनाउने रमा दिदी।

रमा कार्की

साइकोलोजिस्ट, नर्स उनको व्यावसायिक पेशा हो। उनी एसओएस बालग्राममा आबद्ध छिन्। बालबालिका, उनीहरुका अभिभावकलाई सिकाउने, बुझाउने गर्छिन्। उनी यहाँ ४ वर्षको उमेरदेखि छिन्। भूमिका अलि फेरिएको छ।

एसओएस बालग्रामसँग उनको दोहोरो सम्बन्ध छ। चार वर्षदेखि उनी यहीँ हुर्केकी हुन्। इलामको जितपुर उनको जन्म घर हो। दोस्रो सन्तान अनि पहिलो छोरी थिइन् घरमा। परिवारको आर्थिक अवस्था अलि कमजोर थियो, जन्मँदा अलि फरक अवस्था थियो। ‘मेडिकल टर्ममा बाइलाटल क्लफिट भनिन्छ, म जन्मदा पैताला भित्र फर्केको बच्चीको रुपमा जन्मेको थिएँ।’

भनिन्छ, बालबालिकाले केही बुझ्दैनन्। तर बालबालिकाको बुझ्ने क्षमता एकदम धेरै हुन्छ। ‘सानोमा भएका एक दुईओटा घटना मलाई याद छ। जुन मेरो मष्तिस्कमा अझै गडेर बसेको छ।’ कार्कीले सानोमा आफू शारीरिक रुपमा फरक भएको अवस्थामा गाउँमा गरिएको व्यवहार सम्झिइन्। उनीभन्दा साना दुई बहिनी छन्। गाउँका मानिसले आएर उनको आमालाई भन्ने गर्थे रे, ‘तपाईको दुई छोरीको विवाह हुन्छ, यो छोरीको चाँहि हुँदैन।’

त्यो बेलाको समाज पुरातन सोचले व्याप्त थियो। गाउँमा छोरी जन्मनु नै हेलाको दृष्टि, त्यसमा पनि बच्चा शारीरिक रुपमा फरक भयो भने त्यो समाजले बालिका र जन्मदिने आमालाई दुर्व्यवहार गर्थ्यो। रमा र रमाकी आमाले त्यो अवस्थाको सामना गर्नुपर्‍यो।

‘आमाले बहिनीहरुलाई भन्नुभएको थियो रे, म जन्मेको २२ औँ दिनमा आमा आफू पनि मर्छु र यो छोरीलाई नि मार्छु भनेर निस्कनुभएको थियो।’ उनलाई मानसिक स्वास्थ्यको अभियन्ता र आफैँ आमा भएपछि महसुस भयो कि, ‘एउटा आमाले अपांग बच्चा जन्माएपछि उसलाई डिप्रेशन हुन्छ।’

उनका दाजुभाइ र बहिनी विद्यालय जान्थे तर अवस्था फरक भएकोले उनी विद्यालय जान पाइनन्। तर सानैबाट उनलाई पढ्न धेरै मन लाग्थ्यो। एसओएस बालग्रामका अभियन्ताहरु कार्यक्रम लिएर इलाम जाँदा कार्कीको पढाइप्रतिको लगाव देखे।

तिनै अभियन्ताले उनलाई काठमाडौँ लिएर आए। ‘म सजिलै आएँ रे, छोरीको भविष्य राम्रो होला जस्तो लागेर बाआमाले मलाई लैजान अनुमति दिनुभएछ, अहिले उहाँहरु पनि खुसी हुनुहुन्छ।’ उनले काठमाडौँ आएर पढाइलाई निरन्तरता दिइन्। १९ वर्षको उमेरमा नर्स बनेर काम गर्न थालिन्। काम गर्दै सन् २००३ मा उनी आफू हुर्केको संस्थासँग आवद्ध हुन पुगिन्।

नर्स भएकोले सुरुमा नर्स भएर काम गरिन्। अहिले सहायक निर्देशकका रुपमा कार्यरत छिन्। बालग्राममा भएका बालबालिकाको स्वास्थ्य स्थितिको राम्रो बनाउने योजना, उनीहरुलाई मानसिक–सामाजिक रुपमा समाजमा घुलमिल बनाउने भनेर काम गर्छिन्।

अपांग बालबालिका जन्माउने आमाको समस्या
एसओएस बालग्राममा उनीसँग सल्लाह गर्न अहिले पनि धेरै महिलाहरु आउँछन्, ‘नौ महिना बच्चालाई पेटमा राखेपछि बच्चा सबल नै जन्मियोस् भन्ने हरेक आमालाई लाग्दो रहेछ। अपांगता भएको बच्चा जन्मिदाखेरि दोहोरो मार आमालाई हुँदो रहेछ।’

बालबालिकासँग कसरी बस्ने भन्ने खालको ज्ञानको कमी अभिभावकमा हुने उनले बुझिन्। उनी बोल्ने नसक्ने बच्चाहरुको अभिभावकहरुसँग पनि काम गर्छिन्। (बौद्धिक अपांगता, मानिसिक अपांगता भएका बालबालिकाहरु) ‘म त शारीरिक अपांगता भएको व्यक्ति मात्र थिएँ,’ कार्कीले भनिन्, ‘समाजमा चलेको रीतिथितिले यस आमालाई मानसिक पीडा दिँदो रहेछ।’

उनको आमालाई गाउँले, आफन्तले पाप गरेको भएर यस्तो छोरी जन्माएको भने रे। उनलाई आमाले भन्नुभएको थियो रे, ‘तँलाई जन्माउने बेला मलाई धेरै गार्‍हो भएको थियो, धेरै गार्‍हो सुत्केरी व्यथा लागेको थियो।’ उनी उल्टो जन्मिएकी थिइन्। यहाँ आउने बालबालिका अभिभावकमा ९० प्रतिशत यस्तै मानसिक समस्या भएका हुन्छन्। डिप्रेशनको औषधि खाइरहेको हुन्छन्।

खगेन्द्र नवजीवन केन्द्रमा परामर्श दिँदै रमा कार्की। तस्बिरहरु: सुलभ श्रेष्ठ

अप्रेशनपछि उनी सामान्य भइन्। अरु बच्चासँगै दौडन सक्ने, खेल्न सक्ने। तर सबैको अवस्था उनको जस्तो थिएन। ‘जो ह्विल चियरमा बस्नुहुन्थ्यो, उहाँहरुलाई ह्विल चियर फ्रेन्डली इनभायरोमेन्ट थिएन।’

रमा बालबालिकाको मनोविज्ञानकी ज्ञाता हुन्। ‘हरेक बच्चामा आफूभित्र रिस्क फ्याक्टर, अर्को प्रोटेक्टिभ फ्याक्टरको स्वाभाव हुन्छ, हुन सक्छ ममा प्रोटेक्टिभ नेचर थियो।’ उनी आफ्नो इलामबाट एसओएससम्मको यात्रा सम्झिन्छिन्। अपांगता नभएको भए उनी एसओएस बालग्रामसँग सम्बन्धित हुने थिइनन् होला।

मायालु घर एसओएसले दिएको स्थान पाउने थिइनन् होला, त्यो माया, त्यो उत्साह र त्यो प्रेरणा। उनले एसओएसमा अर्को आमा पाइन्। धेरै बच्चाहरुको हुलमा भेदभावरहित माया पाइन्। ‘आमा अहिले हुनुहुन्न, सुशीला थापा हो उहाँको नाम। म उहाँकी कान्छी छोरी थिएँ।’ उनले कर्म दिने आमाको फोटो सधैँ देखिने गरी घरमा टाँगेकी छिन्।

‘मेरो आफ्नै आमाले मलाई बालगृहमा भेट्न आउँदा मैले त्यस्तो धेरै चासो नै गर्दैन थिएँ रे, अहिले आमालाई स्वस्थ इर्ष्या भएको पनि बुझ्छु म।’ एसओएस बालग्रामको कर्मचारीलाई त्यस्तो हिसाबमा तालिम गराइएको हुन्छ। ‘म मेरो दुईओटै परिवारलाई माया गर्छु। एसओएस र मेरो आफ्नै परिवार।’

एसओएस बालग्रामको स्टाफहरुलाई त्यसरी तालिम दिइएको हुन्छ जसले उहाँहरुलाई फरक बौद्धिक क्षमता भएको मानिसहरुसँग व्यवहार सिकाउँछ। र, बालग्राममा भएका सबै बालबालिकालाई भेदभावरहित व्यवहार हुन्छ।

उनले बुझेको मनोविज्ञान

पेशाले मानसिक स्वास्थ्य अभियन्ता रमा कलेज पनि पढाउँछिन्। ब्रिटिश गोर्खा कलेजमा ‘चाइल्ड साइकोलोजी र जुबिल्याण्ड साइकोलोजी, विभिन्न सुधार गृहमा काम गरेको अनुभव छ। साथै धेरैको अनुभूति सुनेको पनि।

‘धेरैजसो रिह्याब सेन्टरमा काम गर्दा मलाई यस्तो लाग्यो कि बालबालिकाको क्षेत्रमा विद्यालयमा नै बुझाउन जरुरी छ।’ २०७२ सालको भूकम्पपछि उनी यही क्षेत्रमा काम गर्न थालिन्। डा. एनी कानले आर्थिक रुपमा सहयोग गरिन्।

विश्व स्वास्थ्य संगठनले ५ ओटा ‘एडोलोसेन्स क्राइसिस’ भनेर बुँदागत रुपमा उल्लेख गरेको छ।

१. ड्रग डिपेन्डेन्सी
२. किशोर अवस्थामा गर्भवती हुने
३. यौन व्यवसाय
४. निराशाको रोग
५. आत्महत्या

यी पाँच बुँदामा किशोरकिशोरीलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा उनीहरुलाई काउन्सिलिङ गर्ने, त्यस्तै विद्यालयका शिक्षकहरुलाई पनि यस बारेमा ‘तपाइको रोल के हुन्छ?’ भन्ने पनि सिकाउने। रमाले उदाहरण दिइन्, ‘एउटा १६ वर्षको बालकले तपाईँसँग आएर केही कुरा भन्न खोज्यो भने टिचरको भूमिका के हो भन्ने र एउटा अभिभावकको भूमिका के हुन्छ भन्ने कुरा पनि सिकायौँ, उहाँहरुसँग डिल गर्न त्यति सजिलो भने छैन।’

हुन पनि उनी फरक क्षमता भएका, विभिन्न उमेर समूह, विभिन्न क्षेत्रका मानिसहरुसँग व्यवहार गर्छिन्। उनको विशेषज्ञता नसा सम्बन्धि समस्या भएका बालबालिका सम्बन्धि हो। उनले जहाँ जहाँ यस्ता बालबालिका छन्, ती बालबालिकाको लागि एउटा नीति नै बनाएकी छिन्।

‘जहाँ जहाँको रेसिडेन्सियल होममा उनीहरु बसेको छन्, त्यहाँ त्यहाँ चाइन्ड प्रोटेक्सन पोलिसी बनाइदिएको छुँ।’ उनले भनिन्, ‘यस्तै बच्चा नै बढि दुव्र्यवहारमा पर्ने हुन्।’ उनीहरु बोल्न नसक्ने भएकोले तपाईहरुले यो नीति पच्छ्याउन नै पर्छ भनेका छौँ। ताकि उनीहरुले सजिलो महशुस गरुन्, उनीहरु हामीजसरी आफूलाई परेको समस्या भन्न सक्दैनन्।

यस्ता बालबालिका ठूलो भएपछि अभिभावकलाई यस्ता कुरा सिकाइन्छ। फरक मान्छेको फरक सोच, फरक मानसिकता। त्यसमाथि फरक क्षमता भएको बालबालिकाको व्यवहार बुझ्न सारै गारो हुन्छ।

उनको परिवार

सन् २०१२ मा उनको विवाह भयो। उनले सँगै विद्यालय पढेको साथी नै जीवनसाथी पाइन्। ‘हामी ७ देखि १० सम्म एउटै विद्यालयमा पढेका थियौँ।’ उनले हाँस्दै भनिन्, ‘यसको मतलब हामी पहिलादेखि नै प्रेम सम्बन्धमा थियौँ भन्ने चाँहि होइन।’

उनको श्रीमान्को ट्राभलिङ सम्बन्धी कम्पनी छ। आफ्नो श्रीमानको बारेमा कुरा गर्दा उनको अनुहार थोरै चमकले भरिन्छ, उनी थोरै लजाउँदै भन्छिन्, ‘उहाँले ट्रेकिङ्ग गाइडको रुपमा आफ्नो करियर सुरु गर्नुभयो।’

विद्यालय सकिएको १८ वर्षपछि विद्यालयले बोलाएको एक कार्यक्रममा उनीहरुको भेट भयो। धेरै साथीहरु विदेशमा बस्ने भएकाले कमैमात्रको उपस्थिति थियो र त्यही थोरै समूहका एक साथीले उनीहरुलाई विवाहको लागि सल्लाह दिए। कुरा अगाडि भयो, विवाह भयो। उनीहरुको एक जना नानी छ।

उनी सबैको दिदी

उनी एसओएस बालग्राममा ‘साइकोलोजिस्ट’ को पदमा छिन्। तर त्यहाँ उनको भूमिका अभिभावकको छ। उनी सबैकी दिदी हुन्, ‘रमा दिदी।’
‘एसओएसमा काम गर्ने सबैलाई दोहोरो भूमिका हुन्छ, हामी उनीहरुको अल्टिमेट अभिभावक पनि हौँ।’ दिदीलाई भन्यो भने सबै समस्या समाधान हुन्छ भन्छन्। उनलाई जन्मदिनमा ग्रिटिङ कार्ड आउँछ, माया र श्रद्धा उनले पाउँछिन्। ‘यो खुसी बाँड्ने काम हो, ‘ह्युम्यानिटरिङ’ गर्ने काम।’ यहाँ जात, भात, धर्म, लिंगको बारेमा कुनै खालको भेदभाव हुँदैन।

उनीले एसओएस बालग्राममै नै हुर्किएर बाहिर गएका एक भाइको छोरी भएको र उनको पास्नीमा गएको पनि बताइन्। ‘खुसी लाग्यो’ उनले भनिन्, ‘मैले यहाँबाट बाहिर गएका फरक क्षमता भएका भाइबहिनीलाई सामान्य मानिस रोज, जीवन बिताउन सजिलो हुन्छ भन्ने गरेको छुँ। धेरैले यस्तै जीवनसाथी पाएका छन्।’

एसओएस बालग्राममा आउनु उनलाई धेरै खुसीको कुरा भएको छ। उनी यही घरमा हुर्किएकी हुन्। त्यहि समयमा आफूलाई सक्षम बनाइन्। नर्स बनिन् तर उनलाई आफै हुर्केको घरमा सहयोगी हुन मन लाग्यो र उनी फर्किइन्।

‘हामी जो यहि घरमा हुर्कियौँ, हामी पछि यो घरमा बस्ने बालबालिकाको सामाजिकीकरणको लागि हाम्रो नै ठूलो भूमिका हुन्छ, म यहाँबाट बाहिर गएका नानीहरुलाई यस्तै कुरा सिकाउँछु।’ उनी अर्को खुसी बटुल्ने प्रयासमा छिन्, थोरै प्रतिवद्धता मिसिएको स्वरमा उनले भनिन्, ‘मेरो पिएचडी गर्ने ठूलो सपना छ, त्यो पूरा भयो भने म अहिलेको भन्दा धेरै खुसी हुन्छु होला।’

साउन १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्