जोशी अस्वीकृत भए प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : केसी

काठमाडौं – नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीले संसदीय सुनुवाई विशेष समितिबाट प्रधानन्यायाधीश दिपकराज जोशीको नाम अस्विकृत भए संवैधानिक परिषद्को अध्यक्षको हैसियतले नैतिकताका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताएका छन्।

रिपोर्टस क्बलमा आयोजित कार्यक्रममा केसीले संवैधानिक परिषदले सिफारिश गरेको प्रधानन्यायाधीशलाई संसदीय सुनुवाई समितिले अस्विकृत गर्नु संवैधानिक र न्यायिक सर्वोच्चताको विरुद्ध भएकाले राजीनामा दिनुपर्ने तर्क गरेका हुन् ।

उनले भने, ‘सुनुवाई समितिले जोशीको नाम अस्विकृत गर्नु भनेको संवैधानिक परिषदले गल्ती गरेको ठहरिनेछ । त्यसैले परिषदका अध्यक्ष नैतिक संकटमा पर्नुहुनेछ । परिषदका सबै सदस्यहरु दोषी ठहरिनेछन् ।’ परिषदले भेरिफाईड गरेर पठाएको कुरालाई विवाद बनाउन नहुने र यसले न्यायिक क्षेत्रलाई खलबलाउने उनको जिकिर छ ।

केसीले २०७१ सालमा प्रस्तावित प्रधान्यायाधीश जोशीलाई तत्कालिन पूनरावेदन अदालत (हाल उच्च अदालत) को मुख्य न्यायाधीशबाट सर्वोच्च अदालतको न्यायाधीश बनाउन संसदीय सुनुवाई समितिले अनुमोदन गरेको स्मरण गराउँदै भने, ‘अहिले अर्को बखेडा झिकेर स्वतन्त्र न्यायापालिकालाई अपमानित गर्ने काम कसैलेपनि गर्नुहुँदैन् ।’

अध्यक्ष केसीले सुनुवाई समितिमा कामु प्रधानन्यायाधीशजस्तो गरिमामय व्यक्तित्वलाई बेञ्चमा बस्दा सुत्छ, उठ्छ र बस्छ भनेर प्रश्न गरिएको भन्दै आपत्ति जनाए ।

साउन १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्