पत्रकार थपलियाको उपचारमा हेल्चेक्र्याँइ भएको परिवारजनको आरोप

काठमाडौँ- पत्रकार यादव थपलियाकी पत्नी गंगा खतिवडा थपलियाले अस्पतालको लापरबाहीले श्रीमानको मृत्यु भएको दाबी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उजुरी दिएकी छन्।

काठमाडौँ मेडिकल कलेजमा उपचार क्रममा पत्रकार थपलियाको गत असार १५ गते मृत्यु भएको थियो।

बुधबार थपलियाकी पत्नी गंगाले अस्पतालको हेलचेक्रयाइँले श्रीमानको मृत्यु भएको दाबी गर्दैं काठमाडौँ मेडिकल कलेज, श्री सिद्धि पोलिक्लिनिक, पोलिक्लिनिक सञ्चालक र मेडिकल कलेजका डा. दिपेश शाक्यलाई विपक्षी बनाई काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएकी हुन्।

सामान्य ज्वरो आएर उपचारका लागि पोलिक्लिनिक गएका श्रीमानलाई डा. शाक्यले अनुमानका भरमा औषधि दिएको उनको दाबी छ।

पोलिक्लिनिकले दिएको औषधिले निको नभएपछि शाक्यकै भनाइमा काठमाडौँ मेडिकल कलेजमा उपचारका लागि गएको र त्यहाँ पनि डा. शाक्यले नै उपचार गरेको र पर्याप्त परीक्षणबिनै हचुवाका भरमा चलाएको औषधिले श्रीमानको मृत्यु भएको गंगाले दाबी गरेकी छन्।

उनले दोषीलाई कारबाहीका साथै उपभोक्ता संरक्षण ऐन-२०५४ को दफा २२ र २४ बमोजिम विपक्षीबाट २ करोड ५० लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि माग गरेकी छिन्।

साउन १६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्