कप्तानले कप्तानलाई आउट गरे, पारस १२ रनमा सिमित,ज्ञानेन्द्र पनि आउट

फाइल तस्बिर

काठमाडौं- नेपालले आफ्नो  पहिलो एकदिवशीय अन्तर्राष्ट्रिय-ओडिआई क्रिकेट खेलमा  १९० रनको लक्ष्य पाएको छ। नेपालले १९ ओभरमा ३ विकेट गुमाएर   ८७ रन जोडेको छ। नेपालले ५८ रन जोड्दा अनिल शाह आउट भए। अनिलले २१ रन जोडे। नेपालले ८५ रन जोड्दा दोस्रो विकेट गुमायो।

कप्तान पारस खड्का १२ रनमा आउट भए। कप्तान पिटर सिलारले पारसलाई आउट गरेका हुन्। दुई रनपछि उपकप्तान ज्ञानेन्द्र मल्ल पनि आउट भए। ज्ञानेन्द्रले ५१ रन बनाए।

ज्ञानेन्द्र एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धसतक बनाउने पहिलो नेपाली ब्याट्सम्यान बनेका छन्। उनले ५६ बलमा ८ चौका प्रहार गरे।

नेपाललाई अब  १०२ रन आवश्यक छ।

यसअघि घरेलु टोली नेदरल्यान्ड्स  नेपालको कसिलो बलिङसामु खुलेर खेल्न सकेन। टस जितेको नेदरल्यान्ड्सले पहिला ब्याटिङ गर्दै ४७ ओभर चार बलमा सबै विकेट गुमाएर १८९ रनमा सिमित भयो।

नेपालका बलर पारस खड्काले चार र सोमपाल कामीले तीन विकेट लिए। करन केसी, सन्दीप लामिछाने र बसन्त रेग्मीले एक एक विकेट हात पारे। नेदरल्यान्ड्सका लागि माइकल रिप्पोनले सर्वाधिक ५१ रन जोडे।

नेदरल्यान्ड्सले पाँच रन जोड्दा पहिलो विकेट गुमाएको थियो।

तेस्रो ओभरको तेस्रो बलमा सोमपाल कामीले ड्यानियल डर ब्राकलाई एक रनमा आउट गरे। ब्राक बोल्ड भएका थिए। नेदरल्यान्ड्सले दोस्रो विकेटका लागि ४५ रनको साझेदारी गर्‍यो। बेन कुपर २० रनमा आउट भए।

८ औं ओभरमा बलिङ गर्न आएका पारस खड्काले आफ्नो पहिलो ओभरमै विकेट हात पारे। कुपर एलबिडब्लु धरापमा परेका हुन् । १३ औं ओभरको दोस्रो बलमा सन्दीप लामिछानेले ओपनर  स्टेफन माईबर्घलाई ३० रनमा आउट गरे। माइबर्घ बोल्ड भएका थिए। पारसले १६ औं ओभरको पहिलो बलमा वेस्ली बारेस्सीलाई १२ रनमा आउट गरे।

नेदरल्यान्ड्सले पाँचौं विकेटका लागि ६८ रनको साझेदारी गरेको थियो। सोमपालले पाँचौं विकेटका रुपमा बास दे लिडेलाई ३० रनमा आउट गरे। बसन्तले छैटौं विकेटका रुपमा कप्तान पिटर सिलारलाई पाँच रनमा आउट गरे। पारसले सातौं विकेटका रुपमा माइकल रिप्पोनलाई ५१ रनमा आउट गरे। उनले आठौं विकेटका रुपमा सेन स्नाटरलाई शुन्यमा आउट गरे। करनले नवौं विकेटका रुपमा विकेटकिपर स्कट एडवार्ड्सलाई १८ रनमा आउट गरे। १० औं विकेट सोमपालले हात पारेका हुन्।

पारसले १० ओभरमा २६, सन्दीपले १० ओभरमा ४२ र सोमपालले ८.४ ओभरमा ३४ रन खर्चिए।

नेपाली टोलीमा कप्तान पारस खड्का,शरद भेषावकर,ज्ञानेन्द्र मल्ल,सोमपाल कामी,सन्दीप लामिछाने,,अनिल शाह,बसन्त रेग्मी, आरिफ शेख,दीपेन्द्रसिंह एेरी,करन केसी र शक्ती गौचन छन्।

 

 

साउन १६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्