१७ सेकेण्ड बाँकी हुँदा गोल, त्यसपछि पेनाल्टी सुटआउट

नयाँ सिजनको तयारीमा रहेको आर्सनलले अर्को इंग्लिस क्लब चेल्सीमाथि रोमाञ्चक जित दर्ता गरेको छ । अन्तर्राष्ट्रिय च्याम्पियन्स कप अन्तर्गत आयरल्याण्डको डब्लिनमा भएको खेलमा आर्सनलले चेल्सीलाई टाइब्रेकरमा ६–५ ले हराएको हो ।

चेल्सीले पाँचौँ मिनेटमा नै गोल गर्दै सुरुवाति अग्रता लिएको थियो । एन्टोनियो रुडिगरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । खेल सकिनै लाग्दा पनि आर्सनलले गोल फर्काएको थिएन ।

तर इन्जुरी समयको १७ सेकेण्ड बाँकी हुँदा एलेक्सान्ड्र लाकाजेट्टीले आर्सलनका लागि बराबरी गोल फर्काए । त्यसपछि खेल पेनाल्टी सुटआउटमा धकेलियोे । चेल्सीले पहिलो हाफमा नै पेनाल्टी पाएको थियो ।

तर अल्भारो मोराटाको पेनाल्टी प्रहार आर्सनलका गोलरक्षक पेट्र चेकले सुन्दर बचाउ गरे ।

उनले निर्धारित समयमा पेनाल्टी जोगाए भने टाइब्रेकरमा पनि जोगाए । पेनाल्टी सुटआउटमा दुवै क्लबले सुरुका पाँच–पाँच प्रहारमा गोल गरे । तर त्यसपछिको पेनाल्टीमा भने चेकले चेल्सीका रुबेन लोफ्टुसको प्रहार जोगाए ।

साउन १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्