जिम्बाबे चुनाव : विपक्षी प्रदर्शनकारीमाथि गोली प्रहार, तीनजनाको मृत्यु

जिम्बाबेको राजधानी हरारेमा प्रदर्शन गरिरहेका विपक्षी दलका समर्थकमाथि प्रहरीले गोली प्रहार गरेको छ । गोली लागेर तीनजनाको ज्यान गएको पुष्टि भएको छ ।
प्रदर्शनमा रहेको विपक्षी गठबन्धन एमडिसीले प्रहरी कारबाहीको निन्दा गरेको छ । प्रहरीको व्यवहारले रोबर्ट मुगाबेको शासनकालको काला दिनको सम्झना गराएको एमडिसीले आरोप लगाएको छ ।
सोमबार भएको चुनावमा सत्तारुढ जानु–पिएफ पार्टीले धाँधली गरेको भन्दै एमडिसीले प्रदर्शन सुरु गरेको हो । संसदका लागि भएको चुनावको मतगणना भइरहँदा जानु–पिएफ पार्टीले फराकिलो जित निकाल्ने देखिएको छ ।
तर राष्ट्रपति चुनावको परिणाम भने सार्वजनिक गरिएको छैन । एमडिसीले सोमबार भएको चुनावमा आफ्नो पार्टीका उम्मेदवार नेल्सन चामिसा विजयी भएको दाबी गरेको छ ।
युरोपेली युनियनका पर्यवेक्षकले राष्ट्रपति चुनावको नतिजा सार्वजनिक गर्न गरिएको ढिलाईप्रति चिन्ता व्यक्त गरेका छन् । तर अहिलेका राष्ट्रपति इमरसन मनंगाग्वाले बुधबार भएको हिंसाका लागि विपक्षी जिम्मेवार रहेको बताए ।
चुनावी प्रक्रियामा खलबल पुर्याउने उद्देश्यले यस्तो भएको हुन सक्ने उनको भनाई छ । झण्डै ४० वर्ष जिम्बाबेको सत्तामा रहेका रोबर्ट मुगाबे सत्ताच्युत भएपछि सोमबार पहिलो पटक राष्ट्रपति चुनाव भएको हो ।
अहिलेसम्मको चुनावी नतिजा अनुसार जानु–पिएफ निकै अघि रहेको छ । जिम्बाबेको निर्वाचन आयोगका अनुसार जानु–पिएफले संसदका १३२ सिटमा जित हाँसिल गरिसकेको छ ।
एमडिसी गठबन्धनले अहिलेसम्म ५९ सिट जितेको छ । संसदको तल्लो सदनमा २१० सिट छन् । सोमबार भएको चुनावमा ५० लाख भन्दा धेरैले मतदान गरेका थिए । यसको अर्थ ७० प्रतिशत मतदाताले मताधिकार प्रयोग गरे ।
राष्ट्रपति चुनावको भने नतिजा बाहिर आएको छैन । विजयी हुनका लागि कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत ल्याउनु पर्छ । कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत नल्याएमा आउँदो सेप्टेम्बर ८ मा फेरि चुनाव हुनेछ ।