कामकाजी प्रधानमन्त्री आमा

सुत्केरी बिदा सकेर काममा फर्किइन् न्युजिल्याण्डकी प्रधानमन्त्री

न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्र्डेन छोरी निभ गेफोर्ड र प्रेमी क्लार्के गेफोर्डको साथमा ।

न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्र्डेर्न सुत्केरी बिदा सकेर काममा फर्किएकी छन् । प्रधानमन्त्री ज्यासिन्डा ६ हप्ता सुत्केरी बिदा बसेकी हुन् । ३८ वर्षकी ज्यासिन्डाले गएको जुन २१ (असार ७ गते) पहिलो सन्तानको रुपमा छोरी जन्माएकी थिइन् ।

उनी सत्ताको नेतृत्व गरिरहेका बेला सन्तान जन्माउने विश्वको दोस्रो व्यक्ति हुन् । उनीभन्दा पहिले २८ वर्षअघि पाकिस्तानको प्रधानमन्त्री रहेका बेला बेनजीर भुट्टोले सन्तान जन्माएकी थिइन् ।

न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्र्डेन छोरी निभ गेफोर्ड र प्रेमी क्लार्के गेफोर्डको साथमा । तस्बिर : डेविड रोल्याण्ड/इपिए

ज्यासिन्डाले गएको शनिबार फेसबुकमा भिडियो पोस्ट गर्दै आफू सुत्केरी बिदाबाट कार्यालय फर्केको पहिलो हप्ता गर्ने कामको योजना बारे बताएकी थिइन् । ज्यासिन्डा बिदामा रहेका बेला उपप्रधानमन्त्री विनस्टन पिटरले जिम्मेवारी सम्हालेका थिए ।

ज्यासिन्डा विवाहित होइनन् । तर उनी र उनका प्रेमी क्लार्के गेफोर्डको पहिलो सन्तानको रुपमा गएको जुन २१ मा छोरीको जन्म भएको हो । छोरीको नाम उनीहरुले निभ गेफोर्ड राखेका छन् ।

ज्यासिन्डाले बिदामा रहेका बेला पनि मन्त्रीपरिषदका कागजात अध्ययन गर्ने तथा महत्वपूर्ण विषयमा सल्लाह दिने गरेकी थिइन् । गएको अक्टोबरमा प्रधानमन्त्रीमा निर्वाचित भएकी ज्यासिन्डाले आफू गर्भवति रहेको कुरा गएको जनवरीमा बताएकी थिइन् ।

उनी सन् १८५६ पछि कम उमेरमा प्रधानमन्त्री बन्ने न्युजिल्याण्डको पहिलो व्यक्ति हुन् । ज्यासिन्डा लेबर पार्टी गएको सेप्टेम्बरमा भएको चुनावमा दोस्रो पार्टी भएको थियो । कुनै पनि पार्टीले बहुमत नल्याएकाले ज्यासिन्डा गठबन्धन बनाएर प्रधानमन्त्री बनेकी हुन् ।

उनी न्युजिल्याण्डको तेस्रो महिला प्रधानमन्त्री हुन् । ज्यासिन्डा काममा फर्किएपछि अब छोरीको स्याहार उनका पार्टनर (प्रेमी) गेफोर्डले गर्नेछन् । गेफोर्ड फुलटाइम फादर बन्ने छन् ।

ज्यासिन्डा गएको जुन १७ देखि बिदामा थिइन् । उनले आफू अरु सामान्य कामकाजी आमा जस्तै कामकाजी रहेको बताएकी छन् ।

साउन १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्