स्थानीय सरकार निकासी कर उठाउँदै, दोहोरो मारमा परेको व्यवसायीको गुनासो

दाङ – दाङ गढवा गाउँपालिकाले दोहोरो कर लगाएको व्यवसायीले बताएका छन् । गाउँपालिकाले प्राकृतिक तथा खनिज वस्तुहरुको निकासीमा कर लगाएपछि व्यवसायीले गाउँपालिकाले दोहोरो कर लगाएको गुनासो गरेका हुन् ।

नदी जन्य वस्तुबाट संकलन गरिएको राजश्व जिल्ला समन्वय समितिलाई बुझाईसकेकोमा पुनः गाउँपालिकाले निकासी करको नाममा दोहोरो कर लगाएको व्यवसायीले बताएका छन् ।

‘नदी जन्य वस्तु संकलन गर्ने क्रममा सरकारलाई कर बुझाईसकिएको छ ।

फेरि त्यही सामग्रीमा निकासीको नाममा अर्काे कर लगाउने काम भएको छ । यो दोहोरो कर नै हो’ व्यवसायी खड्ग बुढाथोकीले भने ‘विभिन्न बाहानामा स्थानीय सरकारले निकासी कर लगाउन खोजिएको छ । यसले कसैलाई पनि हित गर्दैन् ।’

गढवा गाउँपालिका भित्र एक दर्जन क्रसर तथा वालुवा प्रसोधन उद्योग खुलेका छन् । नदीजन्य वस्तु संकलन गर्दा जिल्ला समन्वय समितिलाई राजश्व बुझाएका थिए । उद्योगबाट प्रशोधन गरिएको त्यही नदीजन्य वस्तु निकासीमा कर लगाइएको भन्दै उद्योगी व्यवसायीले विरोध सुरु गरेका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार प्राकृतिक एवम् खानी जन्य वस्तुमा निकासी कर लिन पाउने व्यवस्था भएको भन्दै साउन १ गतेदेखि गढवा गाउँपालिका भित्र उत्पादित प्राकृतिक एवम् खानी जन्य वस्तुमा प्रति क्यूफुट दुई रुपैयाँका दरले निकासी कर लिन थालेको हो ।

सार्वजनिक सूचना जारी गरेर गाउँपालिकाले वडा नं. १, ५ र ८ वाट कर संकलन सुरु गरेको छ ।

साउन १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्