मेडिकल टुरिजम एसिया एक्स्पो काठमाडौँमा हुने

काठमाडौँ – नेपालमा ‘मेडिकल टुरिजम एसिया एक्स्पो २०१८’ यहि साउन २१ र २२ गते काठमाडौंँमा हुने भएको छ । एक्स्प्लोर प्रोडक्टिक चेम्बर अफ कमर्स, इपिसिसीको आयोजनामा नेपालमा स्वास्थ्य पर्यटन प्रर्द्धन गर्ने उद्देश्यका साथ एक्स्पो हुन लागेको हो ।

इपिसिसीका अध्यक्ष कृष्ण पाण्डेलेका अनुसार नेपालमा स्वास्थ्य पर्यटनको सम्भावना रहेको र यसको विकास तथा प्रर्द्धनका लागि एक्सो सहयोगी हुने अपेक्षा छ ।

यस्तै नेपालका अस्पताललाई प्रमोट गर्ने तथा एसियाका अन्य अस्पतालसँग सहकार्यको वातावरण एक्स्पोले बनाउने आश पनि गरिएको उनले बताएका छन् ।

एक्स्पोमा नेपालसहित भारत, चीन, थाइल्याण्ड, म्यानमार लगायत एसियाका विभिन्न देशका अस्पतालका प्रतिनिधिबिच अन्तरक्रिया हुने र छुट्टाछुट्टै अस्पतालबिचको छलफल र अनुभवले नेपालका अस्पतालको विकास तथा बिस्तारमा सघाउ पुग्ने अध्यक्ष पाण्डेले बताएका छन् ।

एक्स्पोमा विभिन्न देशका मेडिकल क्षेत्रका वरिष्ठ व्यक्तित्वको उपस्थिति रहने र मेडिकल क्षेत्रका विभिन्न विषयमा बिजनेश मिटिङ्ग, छलफल र अनुभव साटासाटको कार्यक्रमसमेत आयोजना हुने बताइएको छ । सो अवसरमा निःशुल्क स्वास्थ्य शिविर, निःशुल्क दन्त शिविरको व्यवस्था गरिएको र प्रवेश निःशुल्क रहेको आयोजकले जानकारी दिएका छन् ।

एक्स्पोको आयोजनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नेपाल टुरिजम बोर्ड र नाटालगायतले सहकार्य गरेका छन् ।

साउन १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्