नागढुंगा-धुलिखेल रेलवे बन्ने! पर्यटन रणनितिक योजना जस्तै ५ वर्ष कार्यक्रम सार्वजनिक

काठमाडौँ- अर्थमन्त्री युवराज खतिवडाले पर्यटन विकासको लागि पुर्वाधार विकास गर्नु पर्ने बताएका छन्। पर्यटकलाई लक्षित गर्दै नागढुंगा-धुलिखेल रेलवे बनाउने सरकारको योजना रहेको भन्दै खतिवडाले भने, ‘साना साना लग्जरी कोच चलाउने हो भने पर्यटकको बसाई अवधि बढाउन पनि सहयोग गर्छ। नागढुंगा-धुलिखेल जस्तै ३०-४० किलोमिटरमा रेलवे बनाउन सकिन्छ।’

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना गरेको ५ वर्षको कार्यदिशा सार्वजनिक गर्ने कार्यक्रममा सरकारले आगामी ५ वर्षमा २५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ।

बिहीबार सातै प्रदेशका पर्यटन मन्त्रीहरुसँग केन्द्रिय पर्यटन मन्त्रालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पर्यटन रणनितिक योजना (२०१५-२०२५) सँग मिल्दो जुल्दो ५ वर्षे कार्ययोजना सार्वजनिक गरेको छ।

सन् २०१४ मा विदेशी दातृ निकायको सहयोगमा तयार गरिएको १० वर्षे पर्यटन रणनीतिक योजना तयार गरिएको थियो। हाल सम्म पनि उक्त रणनीतिक योजना कार्यान्वयन सरकारको प्राथमिकता परेको छैन। पर्यटन मन्त्री रबिन्द्र अधिकारीको पहलमा भएको छलफलमा अर्थमन्त्री युवराज खतिवडा, उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादव पनि सहभागी थिए।

मन्त्री यादवले पर्यटन पनि उद्योग भएको भन्दै तिनै तहका सरकार र सम्पुर्ण मन्त्रालयको पहलमा पर्यटन क्षेत्रको विकास गर्नु पर्ने बताए।

साउन १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्