ट्‍याक्सी सिक्‍दै गरेका आमाछोरा नदीमा खसेर बेपत्ता

म्याग्दी-म्याग्दीको बेनीमा सिक्दै गरेको ट्याक्सी आज नदीमा खस्दा दुई बेपत्ता भएका छन्।

बेनीस्थित जिल्ला प्रहरी कार्यालयको पछाडिको बहुद्देश्यीय खेल मैदानबाट ध १ ज २५१ नं को ट्याक्सी म्याग्दी नदीमा खस्दा जलजला गाउँपालिका बगरफाँटकी ३० वर्षीया शोभा अधिकारी खाती र उहाँका आठ वर्षीय छोरा सागर बेपत्ता भएको प्रहरीले जनाएको छ।

अधिकारीले छोरालाई सँगै राखेर ट्याक्सी सिक्ने क्रममा खेल मैदानको डिलबाट नदीमा खसेर बेपत्ता भएको प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले बताए।

बेपत्ता ट्याक्सी र अधिकारी आमाछोराको खोजीमा प्रहरी तथा स्थानीय बासिन्दा परिचालन भए पनि अझै नभेटिएको प्रहरी नायब उपरीक्षक बुढाले बताए।

नदीले बगाएको ट्याक्सी बेनी ड्राइभिङ इन्ष्टिच्यूटको हो । इन्ष्टिच्यूटका सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

साउन १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्