दल र नागरिक समाजलाई सचेत रहन आग्रह

प्रधानन्‍यायाधीश अस्वीकृतिमा नेपाल बारको आपत्ति

काठमाडौं- कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसियसनले संसदीय सुनुवाई समितिबाट प्रधानन्‍यायाधीशमा दीपकराज जोशीको नाम अस्वीकृत गरिनु स्वतन्त्र न्यायपालिकामाथि हस्तक्षेप भएको ठहर गरेको छ।

बारका महासचिव अधिवक्ता खम्मबहादुर खातीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘संसदीय सुनुवाइ समिति प्रधानन्यायाधीशको बारेमा मतदानसम्म पुग्नु अति नै दुःखद र खेदजनक कुरा हो। यो कदम स्वतन्त्र न्यायपालिकामाथिको ठाडो हस्तक्षेप भएको हाम्रो ठहर छ।’

यस्तै विज्ञप्तिमा नागरिकहरुको आस्थाको धरोहर न्यायपालिकाप्रति योजनावद्धरुपमा भएको यसप्रकारको प्रहारबाट व्यवस्थापिका र कार्यपालिकाद्वारा निर्देशित र नियन्त्रित गर्नेतर्फ उन्मुख भएको आरोप लगाइएको छ।

यसका साथै देशमा संवैधानिक संकट र कानुनी जटिलता उत्पन्न हुने भन्दै सरकार, राजनीतिक दल र नागरिक समाजलाई सचेत हुन पनि बारले सचेत गराएको छ।

साउन १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्