डोल्पाली युवाको पत्रकार सम्मेलन

‘हारेको बामदेव गौतमलाई जिताउने प्रपञ्च रचिए सडक संघर्षमा उत्रिन्छौ’

डोल्पा- डोल्पाका सांसद् धनबहादुर बुढालाई राजिनामा दिन लगाएपछि डोल्पाका युवाले गम्भीर आपत्ति जनाएका छन्। शुक्रबार युवाहरुले पत्रकार सम्‍मेलन गरेर आफ्‍नो क्षेत्रका निर्वाचित जनप्रतिनिधिलाई हटाए वा राजीनामा दिन लगाए सडक आन्‍दोलन गर्ने चेतावनी दिएका हुन्।

शुक्रबार विज्ञप्ति जारी गर्दै बर्दियाबाट चुनाव हारेका नेकपाका नेता बामदेव गौतमलाई चुनावमा सहभागि गराई जिताउने प्रपञ्च रचिए मान्‍य नहुने चेतावनी दिएका छन्।

विगत केही हप्तादेखि पत्रपत्रिका, अनलाईन र सामाजिक सञ्जालबाट डोल्पाका सांसद्धनबहादुर बुढालाई राजिनामा दिन लगाई उक्त क्षेत्रबाट गत निर्वाचनमा बर्दियाबाट चुनाव हारेका नेकपाका नेता बामदेव गौतमलाई चुनावमा सहभागि गराई जिताउने प्रपञ्च रचिएको खुल्न आएको डोल्पाली युवाको नाममा प्रेषित विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘हामी चाहन्छौं, यो हामीले सुनेको सबैकुरा गलत होस्, वा भइसकेको भएपनि तत्काल सच्चाइयोस्। धनबहादुर बुढा जी तपाईलाई हामी फिर्ता बोलाउन चाहन्नौं, बरु थप बाँकी समय यहाँले गरेका बाचा पुरा भएको हेर्न चाहन्छौं। विकास गर्न वा भनौं बाचा पुरा गर्न गाह्रो भनेर भाग्न पाईदैंन। अप्ठ्यारो नै भएको हो भने हामी सहयोग गर्न तयार छौं। तसर्थ, कुनै पनि पद वा पैसाको आशामा जनताको बहुमुल्य मतको सौदावाजी नगरियोस्, भनी खवरदारी दिन चाहन्छौं।’

युवाहरुले चुनावमा हारिसकेको मान्छेलाई जवरजस्ती संसदमा ल्याए, पार्टीगत संरक्षण दिने, निर्वाचित व्यक्तिले पनि आफ्नो अनुकूल पद र पैसामा जनताको मतको सौदावाजी गर्ने जस्ता राजनैतिक कुसंस्कार अवलम्‍बन गरे त्‍यसका विरुद्ध सडक संघर्षमा उत्रने समेत चेतावनी दिएका छन्।

साउन १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्