हार्बी वाइन्स्टिन काण्ड

वाइन्स्टिनमाथिको बलात्कार आरोप खारेज गर्न माग, प्रमाणको रुपमा प्रेमिल इमेल पेश

हलिउड मुगल अर्थात स्थापित चलचित्र निर्माता हार्बी वाइन्स्टिनले आफूमाथि लागेको आपराधिक मुद्दाबाट बाहिरिने प्रयास गरेका छन् । गएको वर्ष वाइन्स्टिनमाथि धेरै स्थापित अभिनेत्रीले यौन हिंसा गरेको आरोप लगाएका थिए ।

त्यसपछि उनीमाथि अदलातमा अपराधिक मुद्दा दायर भएको छ र अहिले त्यसको अनुसन्धान तथा अदालती प्रक्रिया चलिरहेको छ । तर वाइन्स्टिन भने आफूमाथि लागेको आपराधिक मुद्दा अदालतबाट बाहिर ल्याउने प्रयासमा जुटेका छन् ।

शुक्रबार वाइन्स्टिनका वकिलले रक्षात्मक अपिल दायर गर्दै मुद्दा पहिलो सुनुवाईकै क्रममा खारेज गर्नु पर्ने माग गरेका छन् । वाइन्स्टिनमाथि बलात्कारको आरोप लगाएकी एक महिलाबाट प्राप्त भएका दर्जनौँ ‘हार्दिक तथा सहृदयी’ इमेललाई प्रमाणको रुपमा पेश गर्दै वाइन्स्टिन र आरोपितबिच सहमति बिना कुनै पनि सम्बन्ध नभएको दाबी गरिएको छ ।

वाइन्स्टिनको टिमले यी प्रमाणहरु सुनुवाई प्रक्रियाको बिस्तारित जुरी समक्ष पेश गर्नु पर्ने माग पनि गरेको छ । वाइन्स्टिनमाथि तीन महिलासँग सम्बन्धित ६ वटा मुद्दा छन् र उनले आफू दोषी नरहेको बताउँदै आएका छन् ।

वाइन्स्टिनलाई सौहार्द इमेल पठाउने आरोपितको नाम खुलाइएको छैन । आरोपमा धेरै कमजोरी रहेकाले प्रि–ट्रायल स्टेजमै मुद्दा खारेज गर्नु पर्ने वाइन्स्टिनका वकिलले माग गरेका छन् ।

यस्तै सन् २००४ मा भएको भनिएका यौन हिंसाको समयका बारेमा विस्तृत विवरण नरहेको पनि वाइन्स्टिन पक्षले दाबी गरेको छ ।

वाइन्स्टिनका वकिलले दायर गरेको रक्षात्मक अपिलमा एक महिलाले वाइन्स्टिनलाई पठाएका दर्जनौँ इमेल समावेश गरिएको छ, जसमा ती महिलाले वाइन्स्टिनप्रति गहिरो सत्भाव, आत्मियता तथा आभारपूर्ण भावना व्यक्त गरेकी छन् ।

वाइन्स्टिनमाथि आरोप लगाउनु केही पूर्व र त्यसको चार वर्षसम्म ति महिलाले वाइन्स्टिनलाई पठाएका इमेलहरु समावेश गरिएको छ । वाइन्स्टिनको मुद्दा हेरिरहेको न्युयोर्क जिल्ला अदालतले अहिलेसम्म केही बताएको छैन ।

वाइन्स्टिनका वकिलले पेश गरेको १५९ पेज लामो रक्षात्मक अपिलमा वाइन्स्टिन र आरोप लगाउने महिलाबिच भएको ४०० भन्दा बढी इमेलहरु समावेश गरिएको छ । ती इमेल सन् २०१३ अप्रिलदेखि २०१७ को फेब्रुअरीसम्मका हुन् ।

वाइन्स्टिनले ती महिलालाई सन् २०१३ को मार्च १८ मा बलात्कार गरेको आरोप छ । तर त्यसपछि पनि लगातार चार वर्षसम्म आत्मिय इमेल पठाएको दाबी गरिएको छ ।

तर आरोप लगाउने महिलाले न्युयोर्क सिटीको एक होटलमा वाइन्स्टिनले आफूलाई ट्रर्‍यापमा पारेर बलात्कार गरेको उल्लेख गरेकी छन् । वाइन्स्टिन पक्षले भने दाबी गरिएको घटनापछि पनि इमेल आइरहेको उल्लेख गरेका छन् ।

ती महिलाले सन् २०१३ को अप्रिल ११ मा वाइन्स्टिलाई लेखेकी छन्, ‘म तिमीलाई चाँडै नै भेट्ने आशा गर्छु, ढिलो होइन ।’

त्यसपछि अर्को दिनको इमेलमा ‘तिमीले मेरा लागि गरेका सबै कामका लागि आभारी छु’ लेखिएको छ ।

सन् २०१७ को फेब्रुअरी ८ मा लेखिएको इमेलमा, ‘म तिमीलाई माया गर्छु र गरिरहन्छु ।’

यी इमेललाई उल्लेख गर्दै वाइन्स्टिनका वकिलले दुईबिच भएको यौन सम्बन्धलाई बलात्कार भन्न नमिल्ने र यो त विवाहित वा प्रेममा रहेका जोडीले सहमतिमा गरेको कार्य देखिने दाबी गरिएको छ ।

आरोप लगाउने महिलाले आफ्नो वक्तव्य जारी गरेकी छैनन् ।

साउन १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्