हत्या अाराेपमा राज्यमन्त्री शर्मासहित जलेश्वरका मेयरलाई पक्राउ गर्न परमादेश

जनकपुरधाम- उच्च अदालत जनकपुरले तेश्रो मधेश आन्दोलनको क्रममा सशस्त्र प्रहरी थमन विकको हत्या आरोप लागेका प्रदेश २ का राज्यमन्त्री अभिराम शर्मालाई पक्राउ गर्न परमादेश जारी गरेको छ ।

तेश्रो मधेस आन्दोलनको क्रममा २०७२ भदौ २५ गते आन्दोलनकारीको आक्रमणमा परेर घाइते विकलाई उपचारका लागि जनकपुर ल्याउने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको आरोपमा राज्यमन्त्री शर्मा सहित प्रदेश सांसद कौशल कुमार यादव र महोत्तरीको जलेश्वर नगरपालिका प्रमुख रामशंकर मिश्रलाई समेत पक्राउ गर्ने आदेशजारी गरिएको हो ।

सशस्त्रका प्रहरी नायव निरीक्षक थमन विकको हत्या आरोपमा उच्च अदालत जनकपुरले असार २५ गते परमादेश जारी गरेको थियो ।

उच्च अदालत जनकपुरका न्यायधीश माधवप्रसाद पोखरेल र रवि शर्मा अर्यालको संयुक्त इजलासले हत्या आरोपीलाई अबिलम्ब पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रमुखको नाममा परमादेश जारी गरेको थियो ।

जाहेरीको आधारमा जिल्ला अदालत महोत्तरीले २०७२ फागुन २७ गते बयानका लागि इजलास समक्ष पेश गर्न र फरार रहेका प्रतिवादीहरुको हकमा वारेन्टको ७० दिने म्यादी पूर्जी जारी गरे पनि हाल सम्म उपस्थित नभई अटेरी गरिरहेका थिए ।

पक्राउ गर्न भनिएका राज्यमन्त्री शर्मा र मेयर मिश्र राष्ट्रिय जनता पार्टी नेपालबाट निर्वाचित भएका हुन भने, कौशल कुमार यादव महोत्तरी निर्वाचन क्षेत्र नं ४ क मा संघीय समाजवादी फोरम नेपालबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

अदालतको पत्र प्राप्त नभएको प्रहरीको भनाई


तर यता, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कडायतले सशस्त्र प्रहरीका प्रहरी सहायक निरिक्षक थम विक हत्यामा कसैलाई पक्राउ गर्नु भनेर लिखितम पत्र प्राप्त नभएको बताएका छन् ।

उपरीक्षक कडायतले उच्च अदालत जनकपुरबाट पक्राउ गर्नु भनि आदेश दिएको रहेछ, भनि थाहा पाएको तर अधिकारीक पत्र प्राप्त नभईसकेकोले अहिले केही भन्न नसकिने बताए ।

उच्च अदालतको पत्र प्राप्त भएपछि लिखितमको आधारमा कानूनी प्रक्रिया अनुसार नै राज्यमन्त्री सहित आरोपीहरुलाई पक्राउ गरिने प्रहरी उपरीक्षक कडायतले बताए ।

साउन १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्