लघुकथा

यस्तो जागिर-कुकुर हगाउने !!

बेरोजगारीको बिल्ला भिरेको पनि एक वर्ष पुग्न लाग्यो , पढ्न पनि सकिएन, कुनै राजनीतिक दलमा आबद्ध हुन पनि सकिएन ,न त कुनै कामको लागि कसैसँग चाप्लुसी गर्न सकियो । आफै दखि बिरक्त लागेर आइसक्यो ।

ऋणको भारले रातभरी एेठन हुन्छ । आक्कल झुक्क्ल देखेको सपनीमा पनि ससुरालीले गिज्याएको मात्रै देख्छु ।

” छोरी माग्ने बेलामा खुबै फुर्ति लगाएको हैन ज्वाइ नारायण ; नातिनी पनि ४ वर्ष पुग्न लागिन् कुन स्कुलमा हाल्ने हो नि? ”

झसङ्ग भइ बिउझिन्छु , पसिना पुछ्दै छेउमा सुतेकी श्रीमतीको मलिन अनुहारमा हेर्छु कत्रो सपना बोकेर माइतीसँग बिद्रोह गरेर मसँग बिहे गरेकी थिइन् , गलाको साधा पोतेमा आँखा पुग्छ , बिहेका बेलाका सुन केही बाँकी छैन अवाक् हुन्छु ।

पल्लो छेउमा पातलि जिउकी छोरी मस्त निन्द्रामा मन्द मुस्कान सहित देख्छु , लाग्छ .. छोरीले पक्कै पनि मिठो मिठो मिठाई र राम्रा राम्रा गुडियाहरु देखिन् होलिन् सपनिमा। आंशु पुछे र मनलाइ दर्हो बनाए , कल्पिँदा कल्पिदै उज्यालो भएको पत्तै पाइन ।

” यस्तो अन्धकार पछि त उज्यालो छायो भने, मेरो जिवनको कुनै पाटोमा पनि त पक्का सफलताको झुल्को लुकेर बसेको होला नि ! ” मनलाई दर्हो बनाउँछु ।

एक जना साथीलाइ फोन गरे । म : हेल्लो माधव के छ खबर ? बिहानै फोन गरे डिस्टर्ब भएमा सरि है ।

माधव :- ठिकै छ यार ! म उठिसकेको थिए , तिम्रो खबर के छ नि ? धेरै पछि फोनमा कुरा भयो त ! आजकाल कता ब्यस्त छौ नि ?

म :- त्यै त साथी पोहोर तिर इलामेली भेलामा भेट भएको थियो एक बर्ष बितेछ ।

माधव :- के कति कामले फोन गर्यौ नि ?

सविन भट्टराई

म :- हेर न बेरोजगार भएर बसेको पनि बर्ष दिन बित्न लागेछ , तिमी त पत्रकार जस्तो मान्छे धेरै तिर पहुँच हुन्छ , यसो कतै जागीर मिलाइदेउन ।

माधव :- ए हो र ? साच्चै एउटा काम त छ भन्दै थिए कस्ले पो हो … ए याद आयो (एकछिन सोचेर )

तर …

म :- तर के ?

माधव :- तिमी साथी पर्यौ खै भन्नै अफ्ट्यारो लाग्यो ।

म :- भनन यार म एकदमै आर्थिक संकटमा छु जे काम पनि गर्न तयार छु ।

माधव :- नरिसाउ है , तिमिलाइ काम मन नपरेमा नगरे हुन्छ ।

म :- के काम ?

माधव :- एक जना भि. आइ. पि. को मा एउटा काम छ तर अलिक फरक किसिमको ।

म :- कस्तो फरक काम ? काम त कामै हो नि !

माधव :- तीन वटा जर्मन सेफर्ड कुकुर छ त्यसैलाइ बिहान बिहान सडकमा डुलाउनु पर्ने रे !

म :- घर चाहिँ कस्को नि ? ( काम सुन्ने बित्तिकै अचम्ममा परे )

माधव :- एक जना नेताको घरमा ।

म :- पैसा कति दिन्छन् नि ?

माधव :- त्यस्तै पन्ध्र हजार जति , तर कुकुर डुलाउदा पूरा पेट साफ हुने गरि अनिवार्य हगाउनु पर्छ रे !

म :- मन मनै सोचे ( साला … जनता यहाँ खान नपाएर छट्पटीमा छन् तिनै जनताले तिरेको करले मोज गरेर हजारौंको तीन तीन वटा कुकुर अनि सडकमा डुलाएर हगाउने लाई पन्ध्र पन्ध्र हजार दिने )

तर के गर्नु मेरो परिवारको भोको पेटले आदर्श र सत्य संग हार खायो । जागीर खोज्दा खोज्दा पागल हुन आँटेको अवस्था , कुनै उधम गर्न लगानी गर्ने पैसा छैन , गाउँमा गएर खेती गर्न जमिन छैन , जमिन हुने सबै बिदेशमा, सबै जग्गा घडेरि रे !

आ… जे सुकै होस , जस्ले जे भनोस् नेताको कुकुर सडकमा हगाएरै मासिक पन्ध्र हजार ! त्यै पनि बिहान दुई घन्टा , सडक फोहोर भएर के भयो र कसैले केही भन्ने होइन क्यारे।

म :- हुन्छ हुन्छ म कहिले देखि जाउ ? नेता ज्युको घर चाहिँ कता नि ?

माधव :- भोलि देखिनै गए हुन्छ । बुढानिलकन्ठ हो घर म फोन नम्बर पठाइदिन्छु ।

मैले खुशी साथ स्वीकार गरि साथीलाइ धन्यवाद दिए कुकुर हगाउने जागिरमा लगाइदिने भएको मा ।

इतिश्री…

साउन १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्