जनकपुरधाम उपमहानगरपालिका १९ मा पुनः मतगणना गर्न अदालतको आदेश

फाइल तस्बिर

जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिका वडा नं. १९ मा वडाध्यक्ष पदमा भएको मतगणना बदर गरी पुनः मतगणना गर्न उच्च अदालत जनकपुरले आदेश जारी गरेको छ ।

संघीय समाजवादी फोरमबाट उपमहानगरपालिका १९ को वडाध्यक्षमा निर्वाचित जगदीश यादवले धाँधली गरेर जितेको भन्दै विपक्षी एमालेका विनोद कुमार साहले पुनः मतगणना गराउन भन्दै जिल्ला निर्वाचन कार्यालय धनुषा विरुद्ध उच्च अदालतमा रिट दिएका थिए ।

उक्त रिट उपर सुनुवाई गर्दै उच्च अदालतका न्यायाधीश डा.रवि शर्मा अर्यालको एकल ईजलासले अगामी भदौ २६ गते विहान ११ बजे दुवै पक्षलाई राखि मतगणना दाेहाेर्‍याउन जिल्ला निर्वाचन कार्यालय धनुषालाई आदेश दिएको छ ।

साथै दुवै पक्षलाई पूर्व सूचना दिई सूचना पाएको भरपाइ मिसिल साथमा राखी सो मतगणनाको आवश्यक व्यवस्थापन गरेर जानकारी गराउन पनि अदालतले आदेश गरेको हो ।

आदेशमा भनिएको छ ‘मतगणना सम्पन्न भएको मुचुल्कामा भएको संख्या र परिणाम घोषणा मुचुल्कामा रहेका मत संख्याहरु फरक फरक देखिएबाट निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ४४ को उपदफा १ को देहाय (क), (ख) र (ग) बमोजिम मतगणना कानून बमोजिम गर्नु पर्नेमा सो बमोजिम विद्ययमान देखिएकोले उक्त मतगणना कार्य सोही ऐनको दफा ४४ को उपदफा २ बमोजिम बदर भै दोहर्याइ मतगणना गर्न यो आदेश गरिएको छ ।

उच्च अदालतले गरेको आदेशमा निर्वाचनसँग सम्बन्धित विभिन्न फारम र मुचुल्काहरुमा हेर्दा खसेको मत अनुसारको बदर र सदरको मत संख्या फरक फरक उल्लेख गर्दै मतगणना त्रुटीपूर्ण भएको समेत ठहर गरेको छ ।

स्थानीय चुनावमा वडा नं. १९ मा संघीय समाजवादी फोरमका उम्मेदवार जगदीश यादव वडाध्यक्षमा ७ सय ८७ मत प्राप्त गरी प्यानलसहित विजयी भएका थिए भने वडाध्यक्षका अर्का उम्मेदवार नेकपा एमालेका विनोदकुमार साह ७ सय ८१ मत प्राप्त गरी मात्र ६ मतअन्तरले पराजित भएका थिए ।

६ मतले पराजित तत्कालीन नेकपा एमालेका उमेद्वार साहले मतगणनाको क्रममा मतगणना अधिकारीहरुले ७ वटा मतपत्र लुकाई विपक्षीलाई जिताएको र आफूलाई हराएको परिणाम घोषणा गरेको आरोप लगाउँदै आएका छन् ।

परिणाम घोषणाकै बेला असन्तुष्ट हुँदै एमालेका वडाध्यक्षका उम्मेदवार साह मतदान अधिकृतलाई मतगणना दोहर्याउन माग गर्दै उजुरी दर्ता गराउन जाँदा दर्ता नगरेपछि २०७४ असोज ९ गते हुलाक मार्फत उक्त निवेदन निर्वाचन कार्यालयमा उजुरी दर्ता गराएका थिए ।

तर उजुरीमाथि सुनुवाई नभएपछि पराजित वडाध्यक्षका उम्मेदवार निवेदक साहले उच्च अदालत जनकपुरमा रिट दर्ता गराए । रिटमा पराजित वडाध्यक्ष साहले वडा नं. १९ मा ३२२४ मत खसेकोमा मतगणा अधिकारीहरुले ३२१७ मत मात्र गणना गरेको दाबी गरेको जनाईएको छ ।

साउन १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्