जनकपुरमा अब राष्ट्रगानसँगै जनकपुरगान

जनकपुरधाम-जनकपुरधाम उपमहानगरपालिकाले अब राष्ट्रगान तथा जनकपुर गानप्रति सम्मान अर्पण गरेपछि मात्र कुनै पनि कामकाजको शुरुवात गर्ने निर्णय गरेको छ ।
शनिवार जानकी मन्दिरको प्राङ्गणमा जनकपुरगान सार्वजनिक गर्दै जनकपुरधाम उप–महानगरपालिकाका प्रमुख लालकिशोर साहले देशभक्ति तथा जनकपुरधामप्रतिको स्नेह दर्शाउनका लागि यो निर्णय गरिएको बताए ।
प्रमुख साहले प्रत्येक दिन कार्यालय समय १० बजेदेखि ५ बजेसम्म रहँदै आएको भन्दै आइतबारबाट सबै कर्मचारीलाई अब कार्यालय समयभन्दा ५ मिनेट अगावै आउनु पर्ने समेत बताए ।
आफू लगायत सबै कर्मचारीले राष्ट्रगान तथा जनकपुर गानप्रतिको सम्मान प्रक ट गरेपछि मात्रै कामकाजतर्फ लाग्ने साहले बताए । कार्यालयमा छिर्नुभन्दा पहिले राष्ट्रगान र जनकपुरगान गाउने निर्णय गरिएको उनको भनाई छ । सार्वजनिक गरिएको जनकपुर गान एक मिनेटको रहेको छ।
मैथिलीमा रहेको सो जनकपुर गानको रचना अशोक दत्तले गरेका छन् भने गीतमा आधा दर्जनभन्दा बढी गायकले स्वर दिएका छन् ।
जनकपुर गानमा सुनिल मल्लिक, प्रवेश मल्लिक, ललित कामत, सञ्जय यादव, शिवानी भगत, संगिता देव, निहारिका मल्लिकलगायतका गायकहरुको आवाज रहेको छ ।
नगर प्रमुख साहले जनकपुरले धामको रुपमा कानूनी मान्यता पाएको खुशीमा आफूहरुले जनकपुरगानको निर्माण गराएको जानकारी दिए ।