नेपाली वैज्ञानिक मुनिबहादुर शाक्‍य- भाग-३

‘लोडसेडिङको विकल्पमा कम पावरमा चल्‍ने ग्रीन कम्प्‍युटर बनाएँ’

यसअघि मैले देवनागरी कम्‍प्‍युटर बनाइसकेको थिएँ। मानिसहरु यसलाई प्रयोग गरेर नेपाली भाषामा लेख्‍न थालिसकेका थिए। तर कम्‍युटरलाई पावर अर्थात लोडसेडिङ ले सास्ती दिइरहेको थियो त्यतिबेला पनि। लोडसेडिङको मार त्‍यतिबेला १६देखि १८ घण्टासम्‍म खेप्‍नुपर्थ्‍यो। फलस्वरुप डेक्सटप कम्‍प्‍युटर चल्‍न धौ-धौ परेको थियो।

धेरै पावर खाने भयो भनेर मानिसहरु त्‍यतिबेला विकल्प खोजिरहेका थिए।इन्भर्टरले नभ्‍‍याउने। तर त्‍यति बेला मैले त्‍यही समयमा कम पावरमै चल्‍ने कम्‍प्‍युटरको परिकल्पना गरे।

डेक्सटप कम्प्‍युटर र सिआरटी मोनिटर एकै पटक चलाउँदा १६० वाट पावर चाहिन्थ्यो त्‍यो समयमा।  तर मैले कम पावरमा चल्‍ने कम्प्‍युटरको परिकल्‍पना गरे।

सय देखि दुई सय वाटको एउटा सोलार प्‍यानेल जडान गरेपछि यसले दिनभरी चल्‍न सक्‍ने पावर दिन्थ्यो। पछि मैले हप्ता दिनसम्‍म पनि बत्ती नआए केही फरक नपर्ने अर्थात सोलारबाटै कम्प्‍युटर चल्‍ने अवस्थामा पुर्‍याए, त्‍यो समयको माग अनुसार। अब त मैले केही गर्नै पर्‍यो भनेर ग्रीन कम्‍प्‍युटर बनाउन तिर लागि परे।

ग्रीन कम्प्‍युटरमा खास के हुन्छ भने सीपीयूको प्रोसेसिङ पावर कायमै राखी सीपियूको प्रोसेसिङ स्पीड पहिला १ गिजाहर्जबाट सुरु गरेका थियौ।

पछि यो प्रोसेसिङ स्पीड  २ देखि  अहिले ३.६ गिगार्हजसम्‍म पुगिसकेको छ।

१० वर्षअघि मैले २६० वाट पावरमा सीआरटी मोनिटर समेत  गरी कम्प्युटर चल्‍ने बनाएँ। तर ग्रीन कम्प्‍युटर भने जम्‍मा २५ देखि ३५ वाटमा चल्‍ने भएकाले ७  गुणा कम पावरमा  चल्‍ने भयो। त्‍यतिबेला तत्कालिन प्रधानमन्त्री डा.बाबुराम भट्टराई हुनुहुन्थ्यो। उहाँले आइटी क्षेत्रका सबै विज्ञहरुसँगै  मलाई पनि बोलाउनु भयो। म पनि त्‍यहाँ सहभागि भए। सबैले प्रविधि क्षेत्रमा विकास भइरहेको छ।राम्रो छ भनिरहे। तर मेरो मनले भने मानिरहेको थिएन। किनकी त्‍यतिबेला पनि लोडसेडिङ दैनिक १६ देखि १८ घण्टा नै कायम थियो। सबैले बोलिसके पछि मैले पनि बोल्‍ने मौका पाए।

त्‍यतिबेला मैले भने, ‘प्रधानमन्त्री ज्‍यू अघि सबैले ठीक छ त भन्‍नुभयो। तर यहाँ त कुनै पनि ठीक जस्तो लागेन मलाई। किनभने प्रतिदिन १६ देखि १८ घण्टा लोडसेडिङको मार खेप्‍नु परिरहेको छ देश र जनताले। सबै जना अध्‍यारोमा बस्‍नु परिरहेको छ। के यो ठीक हो र ? एक बाल्टी पानीको लागि घण्टौ लाइन लागेर बसिरहेका छन् जनता। यो पनि त ठीक भएन्। कतिपय कुराहरु ठीक छैन प्रधानमन्त्री ज्‍यू। जति पनि कम्प्‍युटर टावरमा चलिरहेको छ, त्‍यसलाई रुपान्तरण गरेर ग्रीन कम्‍प्‍युटरमा ल्‍याउनु पर्‍यो। यसले ७ गुणा कम पावरमा चलाइ पावरको बचावटमा सहयोग पुर्‍याउँछ।’

त्‍यतिबेला काठमाडौंमा बत्ती बाल्‍न र इलेक्ट्रोनिक्स चलाउन १०० मेगावाट चाहिन्थ्यो भने अब १४ मेगावाटमा  ग्रीन कम्प्‍युटर चल्‍ने भयो। बाँकी ८४ मेगावालटले काठमाडौं झिलिमिली बत्ती बाल्‍न पुग्‍ने थियो।    प्रधानमन्त्री भट्टराईले यो कुरा सुनेर हुन्छ त भन्‍नुभयो। मैले भनेको तथ्‍य त सही भयो। तर पछि  यो विषयमा सम्बन्धित नियकाले कुनै सक्रियता नदेखाएका कारण काठमाडौं अध्‍यारोको अध्‍यारोमै सीमित रह्‍यो।

ग्रीन कम्प्‍युटर भविष्‍यको लागि अति उपयोगी प्रविधि


नानो टेक्‍नोलोजीमा आधारित भएर बनेको भएर यो ग्रीन कम्प्युटर  नयाँ पुस्ताका लागि यो भविष्‍य हो। यसले  कम पावर तर धेरै मात्रामा मानिसको आवश्‍यकताहरु पूरा गर्नेछ। किनकी यसले नानो टेक्नोलोजी  भित्र्याएको  छ। धेरै भन्दा धेरै कम पावरमा कम्‍प्‍युटर चलाउन पाउनु नै भविष्‍यमा एउटा ठूलो उपलब्धि भावी पुस्ताका लागि हुनेछ। विश्‍वमा अहिले कम पावरमा नै  चल्‍न सक्‍ने नानो टेक्‍नोलोजीमा विकसित धेरै  प्रकारका प्रविधिको विकास र विस्तार भइरहेका छन्।

हाल स्मार्ट सिटीको विषमाय निक्‍कै चर्चा परिचर्चा भइरहको छ जसमा यही नानो टेक्नोलोजीमै आधारित छ। पहिले सय नानो मिटरको दूरीमा कम्प्युटर सर्किटहरु बनाइन्थ्यो भने  हाल सात नानो मिटरसम्‍ममा काम भइरहेको छ।

मैले पनि ५ वाटको पावरबाट चल्‍ने प्रोसेसर/प्रोग्रामसहितको रोबोट पनि बनाए। जसमा पावर कम र प्रोसेसिङ पावर बढी हुँदै जाने हुन्छ। सानो सानो पावरमा धेरै प्रोसेसिङ गर्न सक्‍ने इलेक्ट्रोनिक मेसिनहरु चल्‍ने विश्‍व बजारमा माग आइसकेको छ।

अझ अहिले त अमेरिकनहरुले बनाएको सबैभन्दा अत्‍याधुनिक सुपर कम्प्युटरको स्पीड २ सय  ‘पिटाफ्लोप’को  भइसकेको छ।  यसअघि चिनियाँहरुले बनाएको सुपर कम्प्‍युटरको स्पीड ३५ पिटा फ्लोपको थियो।

अब मेरो पनि अत्‍याधुनिक नानो टेक्‍नोलोजीमा  आधारित  कम बजेट र कम पावरमा चल्‍ने सुपर कम्प्युटर बनाउने  उद्देश्‍य रहेको छ। हामीले पिटा फ्लोपको नबनाए पनि टेरा फ्लोपको सुपर कम्प्युटर बनाउन सके पनि धेरै राहत हुने हुन्छ खास गरी विकास र समृद्धिका लागि। तर यसमा खै न त सरकार जुर्मुराएको देखिन्छ न त सरोकारवालाहरु। हामी प्रविधिमा पनि अरुकोबाट ल्‍याएर चलाउने परजीवी भइसकेका रहेछौ। आफै प्रयोग र पहुँचमा कहिले पुग्‍ने खै ?

साउन १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्